भोजपुरी भाषाको मौलिकता जोगाउन जुटे साहित्यकार

पुस ६, २०८० |माधुरी महतो
भोजपुरी भाषाको मौलिकता जोगाउन जुटे साहित्यकार

वीरगन्ज । वीरगन्जका साहित्यकार तथा समुदायका मानिसहरू भोजपुरी भाषाको मौलिकता जोगाउने अभियानमा जुटेका छन् । मिठासपूर्ण र कर्णप्रीय यो भाषामा पछिल्ला दिनमा अश्लीलता हावी हुँदै गएको भनी चिन्ता व्यक्त भइरहेका बेला भोजपुरी भाषाप्रतिको आम दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन अभियान थालिएको हो ।

नेपालमा बोलिने अन्य भाषाजस्तै आफ्नै पहिचान र मौलिकता भएको भाषा भोजपुरी पनि हो । भोजपुरियाहरूको रीतिरिवाज, भाषा-प्रयोग, जीवनशैली, चिन्तन प्रणाली र आध्यात्मिक विश्वासको परम्परा लामो छ । तर पछिल्लो समय यस भाषामा बन्ने गरेका गीतमा अश्लीलताले प्रश्रय पाउँदा भोजपुरी भाषाप्रतिको बुझाइ नै फरक पर्दै गएको छ । त्यसैले यो भाषाको मौलिकता जोगाउन सबै मिलेर लाग्नुपर्ने नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको भनाइ छ ।

भोजपुरी भाषाको उत्थानका लागि वीरगन्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठान गठन गरेको छ भने कतिपय युवाहरूले स्वतस्फूर्त रुपमा बालबालिकालाई भोजपुरी भाषा परम्पराबारे सचेतना दिँदै आएको वीरगन्जकी स्मिता पटेल बताउँछिन् ।

भोजपुरी मातृभाषा हुनेहरू खासगरी पर्सा, बारा, रौतहट, चितवन, नवलपरासी, रूपन्देहीलगायत जिल्लामा बसोबास गर्छन् । पछिल्लो जनगणना अनुसार देशको कुल जनसंख्यामा भोजपुरी मातृभाषीहरू ६.२४ प्रतिशत् अर्थात् झन्डै १८ लाख छन् । पहिले कैथी लिपिमा लेखिने देशको तेस्रो मुख्य भाषा भोजपुरी हाल देवनागरीमा लेखिन्छ । भोजपुरीभाषीलाई सामान्यत: भोजपुरिया वा भोजपुरे भन्ने चलन छ । ग्रामीण भेकमा यो भाषाको पुस्तान्तरण सन्तोषजनक भए पनि सरकारी उपेक्षाका कारण भाषाको उजागर तथा उत्थानमा सोचेजस्तो सफलता हासिल गर्न नसकिएको भाषा आयोगका अध्यक्ष एवं शोधकर्ता गोपाल ठाकुरको बुझाइ छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले भोजपुरी भाषाको लोक र आधुनिक गरी गद्य र पद्य दुवै विधामा शोध गराएको छ । यसको समाज भाषाविज्ञान तथा व्याकरणमाथि पनि शोध प्रकाशन भइसकेको छ । करिब २४ हजार प्रविष्टिको प्रज्ञा भोजपुरी-भोजपुरी-नेपाली-अंग्रेजी शब्दकोश ०७४ सालमा प्रकाशित भइसकेको छ । संविधानले प्रदेश सरकारलाई नेपालीका अतिरिक्त अन्य भाषालाई पनि सरकारी कामकाजको भाषा तोक्ने अधिकार दिएको छ । तर अहिलेसम्म कुनै पनि प्रदेशले भोजपुरी वा अन्य कुनै भाषालाई सरकारी कामकाजको भाषा तोकेका छैनन् । 


Image

माधुरी महतो

महतो कान्तिपुर टेलिभिजनकी पर्सा संवाददाता हुन् ।