साङ्केतिक भाषामा रमेकी शर्माको अर्को कृति सार्वजनिक

जेष्ठ ८, २०८० |कान्तिपुर टीभी संवाददाता
साङ्केतिक भाषामा रमेकी शर्माको अर्को कृति सार्वजनिक

काठमाडौं । शिलु शर्माले लेखेको नेपाली साङ्केतिक भाषाको स्वरुप नामक पुस्तक पाठकमाझ आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त पुस्तक प्रकाशन गरेको हो ।

साङ्केतिक भाषाप्रतिको अध्ययन अनुसन्धानमा निरन्तर लागिरहेकी शर्माको यस पुस्तकमा मुख्यत नेपाली साङ्केतिक भाषाको पृष्ठभूमिका साथै वर्ण व्यवस्था र व्याकरणिक संरचनाको विश्लेषण गरिएको छ ।

नेपाली साङ्केतिक भाषाको आफ्नै पहिचान छ । यस भाषाले आफ्नै मौलिकता बोकेको छ । नेपाली साङ्केतिक भाषाको विकास क्रमशः अगाडि पनि बढिरहेको छ । नेपालमा बोलिने १२५ भाषामध्ये साङ्केतिक भाषा पनि एउटा हो । यो भाषालाई बहिरा व्यक्तिहरूको सञ्चारको माध्यमको एक महत्वपूर्ण हिस्साका रुपमा नेपालको संविधानले स्वीकार गरेको छ ।

प्रज्ञा–प्रतिष्ठानको भाषा (मातृभाषा, कोश र व्याकरण) विभागको परियोजनाअन्तर्गत शर्माले सम्पन्न गरेको यस कृतिबाट नेपाली साङ्केतिक भाषाका विभिन्न पक्षहरुबारे जानकारी पाउन सकिन्छ ।

नेपाली साङ्केतिक भाषा एउटा पृथक भाषा हो । २०६८ को जनगणना अनुसार बहिरा तथा सुस्तश्रवण व्यक्तिहरूको संख्या ७९,३०७ थियो भने २०७८ को जनगणना अनुसार बहिरा व्यक्तिको संख्या ५१ हजार ३७३ तथा सुस्तश्रवण व्यक्तिको संख्या ५१ हजार ५२० छ । राष्ट्रिय बहिरा महासङ्घ नेपालका अनुसार यस भाषाको प्रयोग गर्ने नेपाली बहिरा समुदायका व्यक्ति वा यस भाषाको वक्ता संख्या झण्डै ३ लाखदेखि ५ लाखको हाराहारीमा रहेको छ ।

पुस्तकमा साङ्केतिक भाषामा स्टोकेइ–मोडेल, लिडेल–जोन्सन मोडेल,औँला हिज्जेदेखि यस भाषामा आएका परिवर्तन लगायतका विषयहरू समेटिएका छन् । पुस्तकमा युवा बहिराहरुले चलनचल्तीमा ल्याएका साङ्केतिक शब्दहरूलाई पनि स्थान दिइएको छ ।

पुस्तकमा मुख्यत नेपाली साङ्केतिक भाषाको पृष्ठभूमिका साथै वर्ण व्यवस्था र व्याकरणिक संरचनाको विश्लेषण गरिएको छ । साङ्केतिक भाषाको पृष्ठभूमि, इतिहासका साथै यो भाषाको व्याकरणीय पक्षबारे जानकारी गराइएको छ ।

‘नेपाली साङ्केतिक भाषाको व्याकरणबारे चर्चा गरिए तापनि सम्पूर्ण व्याकरण भने होइन, नेपाली साङ्केतिक भाषाको व्याकरणको थप अनुसन्धान गर्न बाँकी नै रहेको’ लेखक शर्मा बताउँछिन् ।

नेपाली साङ्केतिक भाषाका वर्ण, शब्द, वाक्य र संकथनका तहमा गहन अध्ययन र अनुसन्धानका क्षेत्रमा लाग्न भावी अध्ययन कर्ताका लागि यो पुस्तक उपयोगी बन्न सक्छ । पुस्तक विद्यालय स्तरमा नेपाली साङ्केतिक भाषाको शिक्षणका साथै यस क्षेत्रका अनुसन्धाता तथा अध्येताका लागि ठूलो आधार र उत्तिकै सहयोगी हुनसक्छ ।

विगत दुई दशकदेखि शर्माले साङ्केतिक भाषाको क्षेत्रमा प्राज्ञिक कर्म गर्दै आइरहेकी छन् । विसं २०६० मा नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहका लागि ‘नेपाली साङ्केतिक भाषाको उद्भव, विकास र स्वरूप’ शीर्षकमा शोध कार्य गरेर त्यसलाई पुस्तकको आकार दिएकी थिइन् ।

शर्माले २०७४ मा राष्ट्रिय बहिरा महासंघ नेपालबाट प्रकाशित ‘नेपाली साङ्केतिक भाषाको शब्दकोश’ मा सह–लेखनसमेत गरेकी थिइन् । २०७६ मा भाषाविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहका लागि शर्माले ‘नेपाली साङ्केतिक भाषाको समास’ शीर्षकमा शोध कार्य पनि गरेकी थिइन् ।

२०७८ मा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित जर्नल ‘मातृभाषाको रुपरेखा भाग–२’ मा शर्माको ‘नेपाली साङ्केतिक भाषाको रुपरेखा’ शीर्षकमा लेखसमेत प्रकाशित छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.