देवव्रतको 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक

वैशाख ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
देवव्रतको 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक

काठमाडौं । कवि देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' शनिबार सार्वजनिक भएको छ । काठमाडौंको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निवन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन गरे।

कार्यक्रममा बोल्दै कवि मुकारुङले देवव्रतको कवितामा लयविधान भएको बताए । उनले भने, 'पछिल्लो पुस्तामा नयाँ शैली लेख्ने कविहरू छन्। त्यसमध्ये देवव्रत पुगेका छन्। उहाँका कतिपय कविता पढ्दा मलाई इर्श्या पनि लाग्यो ।’

निबन्धकार सापकोटाले देवव्रतका कवितामा हजारौं वर्षदेखिको पुरानो घाउ, मधेसका दलित र कर्णालीका आम मान्छेका जीवन समेटिएको बताए।

लेखक ढकालले देवव्रतका कविताले अहिलेको चरम उपभोक्तावादी समय बोलेको बताइन् । उनले भनिन् 'उनका कविताले मृत्यु बोलेका छन् ।आत्महत्या बोलेका छन्। चरम उपभोक्तावादी समय पनि बोलेको छ। कर्णालीमा भएको अभाव बोलेको छ ।'