लुम्बिनीमा बुद्धको दर्शनमा आधारित नाटक ‘गच्छामी’ मञ्चन (भिडियो रिपोर्ट)

माघ १९, २०७९ |भुवन पाण्डे
लुम्बिनीमा बुद्धको दर्शनमा आधारित नाटक ‘गच्छामी’ मञ्चन (भिडियो रिपोर्ट)

भैरहवा । गौतम बुद्धको जन्म, जीवन र दर्शनमा आधारित नाटक ‘गच्छामी’ लुम्बिनीमा मञ्चन गरिएको छ । नाटकमा विशेषगरी राजर्षि सुख-सयलसहित गृह त्याग गरेका सिद्धार्थ गौतम, उनको परिवारमा परेको वियोग र उनले बुद्धत्व प्राप्त गरिसकेपछिको कालखण्ड प्रस्तुत गरिएको छ ।

तिलौराकोटबाट, मामाघर देवदह जाने क्रममा लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको प्रसंगबाट नाटक सुरु हुन्छ । ज्योतिषीले गरेको भविष्यवाणीमा, सिद्धार्थ गौतम राजकाजमा लिप्त भए महान् चक्रवर्ती राजा बन्ने नभए ठूलो ज्ञानी र सन्न्यासी बन्ने थाहा पाएपछि बुवा सुद्धोधनले भोगविलासमा लिप्त बनाउने प्रयास गर्छन्। तर सबै प्रयास असफल भए । अन्तत: सिद्धार्थले दरबार छोड्छन् ।

बुद्धत्व प्राप्त गरेपछि ज्ञान बाँड्दै हिँडेको र भिक्षा माग्दै दरबारसम्म आएको प्रसंगलाई नाटकमा आकर्षक रुपमा चित्रण गरिएको छ ।

नाटकको अन्त्यमा बुद्धको सद्धर्म पालना गर्दै महिलाहरु पनि प्रव्रज्या भिक्षुणी बनेको देखाइएको छ । रंगकर्मी सुनिल पोखरेलले बुद्धसँग सम्बन्धित विभिन्न पुस्तकहरुको आधारमा गच्छामी नाटक तयार पारेका हुन् ।

२५ सय ६६ वर्ष अघि जन्मेका गौतम बुद्धको समयकालका संस्कृति, भेषभूषा, लवज लगायतलाई जीवन्त देखाउन आरोहण गुरुकुलका कलाकारले निकै मिहिनेत गरेका छन् ।

गौतमबुद्धको जन्मस्थल भएपनि लुम्बिनीमा नाटक हेर्न स्थानीयबासी, व्यवसायी, विद्यार्थी तथा बाहृय मुलुकका पर्यटकको पनि उपस्थिति थियो । पर्यटकलाई आकषिर्त गर्न र उनीहरुको बसाई अवधि बढाउन पनि यस्ता गतिविधि बढाउन आवश्यक छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।