फित्कौलीको खित्कौली सभामा मट्याङ्ग्रा हानाहान

माघ १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
फित्कौलीको खित्कौली सभामा मट्याङ्ग्रा हानाहान

काठमाडौं । हास्यप्रधान फित्कौलीले आफ्नो वार्षिकोत्सवका अवसरमा खित्कौली सभाको आयोजना गरेको छ ।

सभामा हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले पोखराका हास्यव्यङ्ग्यकार शेषराज भट्टराईको ‘हास्यव्यङ्ग्य निबन्ध कस्तो हुनुपर्छ’ नामक कृति र फित्कौलीका कार्टुनिस्ट राजेश मानन्धरको ‘कार्टुन सङ्ग्रह भाग १’ लोकार्पण गर्दै दुवै हास्यव्यङ्ग्य स्रष्टालाई बधाई दिए ।

विमोचित कृतिबारे चर्चा गर्दै डा. रमेश शुभेच्छुले व्यङ्ग्य स्रष्टा शेषराज भट्टराईको व्यङ्ग्यकारिता, शिष्ट गम्भीर र विशिष्ट रहेको उल्लेख गरे । उनले कार्टुनचित्रमा तीन दशक बिताएका कलाकार राजेश मानन्धरको कार्टुन सङ्ग्रहको प्रकाशन एउटा महत्त्वपूर्ण प्राप्ति रहेको जनाए ।

कार्टुनिस्ट राजेश मानन्धरलाई रामकुमार पाँडेले फित्कौलीको खित्कौली सम्मान प्रदान गर्दै माला तथा सम्मानपत्र हस्तान्तरण गरे । प्रमुख अतिथि नभनेर हास्यव्यङ्ग्यका जेठोबूढो भनिएका रामकुमार पाँडेले फित्कौलीको हास्यव्यङ्ग्य अभियान अत्यन्त सार्थक रहेको बताउँदै यो अभियानमा साथ सहयोग प्रदान गर्नु हामी सबैको कर्तव्य रहेको बताए ।

ज्येष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलले रिमोट थिचेर उद्घाटन गरिएको खित्कौलीसभाको आरम्भमा सञ्चालक एवं प्रधान सम्पादक नरनाथ लुइँटेलले फित्कौलीको दसवर्षे यात्रालाई डिजिटल्ली चलचित्रात्मक प्रस्तुत गरेका थिए ।

फित्कौलीको अक्षयकोष स्थापनाको घोषणा

कार्यक्रममा फित्कौलीका सञ्चालक लुइँटेलले फित्कौली अक्षयकोष स्थापनाको घोषणा गर्दै हालसम्म प्राप्त पुरस्कारको रकम १ लाख ५० हजार रुपैयाँ अक्षयकोषमा प्रदान गरी पुरस्कारको रकम पुरस्कारमै रहोस् भन्ने धारणा राखे ।

कार्यक्रममा हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले उक्त अक्षयकोषमा १ लाख, एलआरआई स्कुलका तर्फबाट १ लाख, पोखराका हास्यव्यङ्ग्यकार विश्व शाक्यले ३३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा प्रदान गर्ने घोषणा गरे । कवि तथा हास्यव्यङ्ग्य निबन्धमा कलम चलाउँदै आएका ठाकुरप्रसाद अधिकारीले २० हजार, डा. मुकेश चालिसेले १ लाख ५० हजार, सिस्नुपानी नेपालले २५ हजार रुपैयाँ प्रदान गरी कोषमा सहभागिता जनाउने भएको छ । अर्का हास्यव्यङ्ग्यकार आरसी रिजालले पनि आफूले प्राप्त गरेको पुरस्कारका रकम अक्षयकोषमा प्रदान गर्ने घोषणा गरे ।

फित्कौलीको मट्याङ्ग्रा हानाहान

वार्षिकोत्सवका रुपमा सम्पन्न कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष हास्यव्यङ्ग्य सिर्जनाहरूको प्रस्तुति थियो । यसअन्तर्गत पाका पुराना र नयाँ पुस्ताका हास्यव्यङ्ग्य स्रष्टाहरू सहभागी थिए । आरसी रिजाल, नरेन्द्रराज पौडल, चट्याङ मास्टर, डम्बर घिमिरे, पिँडालु पण्डित, लक्ष्मण गाम्नागे, थरेन्द्र बराल, हरिकला उप्रेती, कृष्णदेव रिमाल, चक्र दवाडी, रेहित सैंजू, जनार्दन धड्कन, अप्सरा सुनार र अनिल पौडेल ‘कीर्ते’ले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.