आज बुधबार अर्थात् मेरो छुट्टी‚ एक्लै हिँड्दिएँ घरबाट कसैलाई कतै जान्छु पनि नभनी । हुन त को नै छ र यो बिरानामा कहाँ जान्छस् ? किन जान्छस् ? कतिखेर फर्किन्छस् ? के खान्छस् ? भनेर सोधनी गर्ने‚ यसैले मनमौजी बनेर घरबाट चल्दिएँ । यति लामो समय भइसक्यो तोरेस्नोभास बस्न थालेको अझै मलाई यहाँका चोक र गल्लीहरूका नाम थाहा छैन थाहा छ त केवल सुपरमार्केटतिर जानेबाटो र महासागरतिर डोर्याउने सडक अनि आफू काम गर्न जाने रेस्टुरेन्ट ।
खजुरका ठूला अग्ला रूखहरू हुर्काइएको महासागरसँगै समानान्तर सडकमा पाइला नापिरहँदा आन्ध्र महासागरको वित्पातै नीलो पानीका छल्काहरूजस्तै मन पनि छछल्किहेछ आज किन किन । दक्षिण दिशामा विशाल महासागरको फैलावट हेर्छु । उसो त मलाई यहाँ आएदेखि दिशाबोध पनि पटक्कै हुन छोडेको छ । ठ्याक्कै खुट्याउन सक्ने भए त फर्कीफर्की हेर्दो हुँ पूर्वै दिशा-नेपाल देश-स्याङ्जा जिल्लामा अवस्थित मेरो प्यारो फेदीखोला गाउँ‚ त्यो रनवन‚ भीरपाखो‚ खन्यूँ र खस्रुका रूखहरू‚ बाआमा र भाइहरू‚ गाउँले दौतरीहरू‚ स्कुल पढ्दाका साथीहरू‚ मावलमा हजुरआमाले पालिदिएको पेटारे बाख्री र त्यसले जन्माएका मुने पाठीहरू साला जिन्दगी पनि के हो यस्तो ! यात्राका दौरान देखेको बाहेक पोर्चुगलको कुनै भूभाग घुम्न भनी निस्केको होइन । काम-घर‚ घर-काम; यसरी थुनुवा कैदीझैँ बनेर एकहोरो जिन्दगी बाँच्नुपर्ने भए त आफ्नै गाउँ ठीक हुँदो हो । हामी नेपाली कुनचाहिँ रङ्गीन सपनाको पछि लागेर दलालसँग बिन्तिभाउ बिसाउँदै वैधअवैध बाटो भई समुद्रपार छिर्छौं र कालान्तरमा तिनै अधुरा सपना भुलेर 'बहादुर' जीवन जिउन बाध्य हुँदा रहेछौं; बाँकी जिन्दगी तिनै दलाल र 'आइज न राम्रै हुन्छ' भनी सल्लाह दिने साथी वा आफन्तजनलाई सराप्दै । परिबन्ध पनि यस्तो कि आफ्नै बाआमा र इस्टमित्रलाई समेत काम यस्तो‚ बसोबास यस्तो‚ साथी संगति यस्ता भनी खुलेर भन्न नसक्ने‚ सबै कुरा ठीकै छ भन्नुपर्ने जिब्रो चपाइचपाइ…
यता फारोतिर फार्मको काम गर्न आइसक्दा पनि मलाई किन हो किन उहीँ तोरेस्नोभास बस्दाका दिनहरूको याद ताजा भइरहेको छ आज । हातमा यो अरमठ्ठे काँडो काट्ने कैँची छ । पञ्जा लगाएर के गर्नु र यो करौंतीजस्तो काँडोले कताबाट घोप्छ घोप्छ । काँडाले छाला छेड्छ तर मनभित्र भित्रै कता च्वास् हुन्छ । छेउमै काम गरिरहेको साथीलाई हेर्छु उसको पनि कामको लय र तन्मयलाई यही पापी काँडोले बारम्बार भङ्ग गरेको देख्छु । उसको पनि शरीर त यही काममा खटिएको छ तर मन भने ? मेरो जस्तै अनन्त गहिरो सोचाइको दहभित्र डुबेको छ सायद । हातमा कैंची समातेर म छिनभरका लागि त्यतिकै उभिदिन्छु । च्वास्स काँडाले घोच्छ फेरि उसलाई र ह्वात्त निस्किन्छ मुखबाट फोहरी गाली । नजर उठाइ हेर्दा मैले उसैतिर हेरेको देखेर मुख बङ्ग्याएर हाँस्छ ऊ । ‘के खान भनेर आथ्यौ सोल्टी पोर्चुगल ? तिम्रा त आफन्त छन् भन्छौ यहाँ‚ के यही काम गर्न बोला हुन् ?’
ऊ आक्रोश मिसिएको प्रश्न मतिर फ्याँक्छ । म नाजवाफ भैदिन्छु ।
अझै थप्छ‚ ‘साला मैले त जानिनँ‚ था'पाइनँ र दलालले झुक्यायो । यता बस्ने साथीहरूले फेसबुक हुँदो पोस्ट गरेको नक्कली जिन्दगी देखेर झुक्किएँ । तर तिमी‚ तिमीलाई जापान जाँदाको हन्डर र ठक्करले केही सिकाएन ? किन हो जापान जाँदाको घाउ बिसेक नहुँदै फेरि यता हान्निएको ? तोरेस्नोभासमा छँदा के गर्यौ ? त्यही डेक्ची धस्काउने काम होइन ? अनि यहाँ ? सम्झ त तिम्रो मेरो लाइफ साला गोरुको भन्दा उत्तम छ र ?’
फेरि भन्छ‚ ‘तिमी त भर्खर २२ वर्षका मात्रै भयौ । समयमै यता छिरेर कष्ट काटेर एउटा टुङ्गोमा पुर्याउँछौ होला जीवनलाई । तर आफू त स्वास्नी छोडेर आको यता । आफूले यता खुट्टो टेकुन्जेल स्वास्नीले उता अर्कै सुर गरी भने घरको न घाटको भइन्छ होला ।‘ अनि मतिर हेरेर फिस्स हाँस्छ ।
म के जवाफ दिउँ यो ढाक्रे जिन्दगीको बचाउमा‚ बरु भन्छु‚ ‘छोडिदेऊ सोल्टी‚ यस्तै हो । बरू आऊ एउटा भिडियो बनाम् टिकटकमा हाल्नलाई । हतारहतारमा आफूले गर्ने कामको भिडियो खिच्छौँ हामी । ढुक्कैले टिकटक भिडियो बनाई बस्यो भने त उसै दिन लात मारेर निकाल्छ साहुले कामबाट । लुकीचोरी हतारमा दृष्यहरू खिँचिन्छन् दुवै जनाले काम गरेका । साँझ घर आई थकाइ बिर्सेर भिडियो सम्पादन गर्न बस्छु‚ युरोपको गृष्म कालको उखरमाउलो घाम त्यसमाथि टनेलभित्रको हाम्रो काम‚ आफ्नै रूप देखेर विरक्त लाग्छ मलाई । लेश ऊर्जा बाँकी नभए पनि भिडियोमा गायक प्रकाश सपूतको गीत मिसाउँछु- ‘चुहियो भन्थ्यौ घरको छानो टिन फेरेर छाउँला‚ तिम्रा आँशु पुछ्न आमा छिट्टै फर्की आउँला । त्यस्तै छ कहानी परदेशीको...।’ मन भारी भैदिन्छ । यस्तो भिडियो घरमा आमाले हेरिन् भने कति रोलिन् । अनि दौंतरीले देखे भने कति खुचिङ् भन्लान् भन्ठान्छु र टिकटकमा हालिहाल्ने आँट गर्दिनँ ।
तोरेस्नोभास बस्दाताकाका दिन र यहाँका दिनमा मेरा निम्ति के नै तात्विक अन्तर छ र उहाँ दिनभरि भाँडाका रास अगाडि राखेर भाग्यलाई सराप्नु पर्थ्यो यहाँचाहिँ राजबेरी नाउँ गरेको ज्याद्रो ऐँसेलुका काँडाले हाताखुट्टा कोतर्दा हृदय नै कोतरिन्छ बस फरक यत्ति हो ।
यही कामबाट पनि निकालिनुपर्छ कि भनेर दिनमा पचासचोटि मुटु झस्याङ्झस्याङ् हुन्छ । खासै काम छैन अचेल यहाँ पनि । निकै दिन भयो पूरा दिन काम गर्न नपाएको । आज त पूरा दिन काम हुन्छ होला भनेर अघिल्लै साँझ खाना तयार पारेर राख्यो र बोकी हिँड्यो त्यही बासी खाना लञ्चबक्समा तर बाह्रै बजे आजको काम खतम भनिदिन्छ साउजी । फर्कि आउँदा यति लामो बाटो हिँड्दै आउनुपर्छ । गर्मीले सडकमै खुट्टा टाँसिन्छन् कि जस्तो हुन्छ । कसलाई कहनु मेरो दर्द । कम्पनीले फार्मबाट मान्छे निकाल्दैछ अरे भनी हल्ला चलिरहन्छन् । पापी मन भन्छ बरु पुरानालाई निकाले पनि हुने । हामी नयाँलाई त फेस्टिभल एलाउन्स‚ एनुअल लिभलगायतका कुनै भत्तासत्ता दिइराख्नुपर्ने होइन । काममा खटायो‚ ज्याला दियो ।
मैले चाहेर के नै भएको छ र ? निकालिहाल्यो भने फेरि कता भौंतारिने होला पोको पुन्तुरो बोकेर ?
भाँडै धस्काउने सही कम्तिमा तोरेस्नोभासमा घरभित्रको काम त थियो । रेस्टुरेन्टैमै खाना खान पाइन्थ्यो‚ रेस्टुरेन्टले नै कामदारहरूका लागि निशुल्क बस्ने व्यवस्था गरिदिएको थियो । मानिसहरू सीमित भएकाले पारिवारिक वातावरण थियो । घरैमा समेत अरूले बनाएको खानामा नाकनिक गर्ने म यहाँ जे भेट्यो त्यही खाइहाल्न किन सक्थें र । अरूले पोर्क वा नाजाने केके जाति खाँदा मलाई अन्डा वा कुखुराको मासु खान दिन्थे । उनीहरूले मेरो खानेबानीप्रति गरेको सम्मानले पनि मलाई थोरै खुशी दिन्थ्यो । तर आफ्नो काम त उही थियो पोर्क खाएका होऊन् वा विफ खाएका‚ भाँडाकुडा टल्काउने त मै थिएँ । कति वाकवाकी छुट्थ्यो अनि कति हृदय कुँडिन्थ्यो ती भाँडा सफा गर्दा त्यसको बयान कसलाई पो गरी सुनाउन सक्छु र !
जिन्दगी जसोतसो चलिरहेकै थियो तर पापी कोरोनाले सबै सपना भताभुङ्ग पारिदियो । पर्यटक भिसामा फ्रान्स हुँदै यस मुलुकमा आई वैधानिकताको प्रयासमा रहेको म । अनेक उपाय गरी बल्लतल्ल नेपालबाट पुलिस रिपोर्टसम्म झिकाउन भ्याएको थिएँ ।। यस मुलुकमा वैधानिक हुने प्रयासमा अब त सोसल सिक्योरिटी नम्बर आउला र टेम्प्रोररी रेसिडेन्ट परमिटको लागि आवश्यक कागजात पेश गरुँला भनी कुरेथेँ‚ कोरोनाले भताभुङ्ग पारिदियो । पोर्चुगलले सम्पूर्ण पर्यटकीय गतिविधि ठप्प पार्यो । मैले काम गर्ने रेस्टुरेन्ट अछुतो रहने कुरै भएन । चिनियाँ साहु लकडाउनले गर्दा केही समय चीनतिरै अड्कियो । ‘घरमै बस‚ कतै नजाओ‚ जगेडा पैसाले खाना जुटाओ । यो प्रकोप सकिने बित्तिकै काम सुरू हुन्छ’ त भनेको हो तर दिन‚ हप्ता‚ महिना गर्दै मेरा उत्पातै फुर्सदिला तीनवटा महिना त्यतिकै बिते त्यहाँ । पहिल्यै आएका र वैधानिक तवरले बसिरहेका आप्रवासीहरूले यस मुलुकले दिने सामाजिक सुरक्षा कोषबाट राहत र अनुदान पाए तर मेरा भागमा भने दिनभरिको अत्यासलाग्दो विरक्ति मात्रै हात लाग्यो । मैले राहत पाउने त कुरै भएन न त मेरो कन्ट्रयाक्ट पेपर थियो‚ न त साहुले मेरो नाउँमा पोर्चुगल सरकारलाई ट्याक्स नै तिरिदिएको थियो । समय कटाउन नेपालतिर हुने साथी-संगति‚ परिवारसँग फेसबुकमा कुराकानी गर्नु मेरो दिनचर्या हुन थाल्यो । मान्छेले गर्ने अनेक अनेक प्रश्नले झर्को सिवाय केही लगाउन्नथ्यो ।
यस्तैमा गर्लफ्रेन्डले‚ ‘मलाई माग्न आइरका छन् के जवाफ दिम् ? भनी सोधेको सोध्यै गर्न थाली । पहिलो चोटि त थामथुम पारेर जोगाएँ उसलाई । तर फेरि १५-२० दिनमै उही प्रश्नले आजित पारी । आफ्नै जीवनको टुङ्गो छैन त्यसलाई कुर्न लागाएर मैले के गर्नी हो र जस्तो लाग्यो ? बिदा दिएँ- ‘तेरो भाग्यमा सुदिन नै सुदिनहरूले बास गरून्’ भनेर । ब्लक गरें फेसबुक र मोबाइल नम्बरमा तर आँखामा भने उही अभागिनी नाँचिरहन्छे अहिलेसम्म पनि । ऊसित जोडिएका सबै सपनाहरू आन्ध्र महासागरको गर्तभित्र कतै डुबाइदिएँ र अहिले बाँचिरहेको छु रङ्गहीन जीवन । त्यसले रुवाई दुईचार दिनसम्म‚ आँखो झिमिक्क गर्न सकिनँ ती दिनहरूमा‚ न त खान नै मन लाग्यो राम्रोसित ।
स्यानो चस्स केही कुरा भयो कि दाइलाई नेपालमा सुनाउँथें । न आमातिरका न मामातिरका ती दाइको त्यतिकै माया लाउँथ्यो । माया त उनी पनि खुबै गर्थे । न आत्तिन भन्थे‚ हौसला दिन्थे । मलाई निराश देख्दा सुस्केरा हालिदिन्थे अनि केही हल्का खुशीको कुरो सुनाएँ भने मभन्दा ज्यादा खुशी उनी देखिन्थे । गर्लफ्रेन्डलाई बिदा दिएको कुरो उनलाई पनि सुनाएँ । नेपालमा पनि कोरोनाको प्रभाव सुरू भइसकेको थियो । दुई जना मान्छेमा संक्रमण देखिएकै बेला नेपालले त झन् लकडाउन ठोकिहाल्यो‚ दाइका पनि सबै काम ठप्प भएछन् । उनी पनि तनावैतनावमा थिए । कहाँनिर के कुरामा हाम्रो असमझदारी भन्यो कुन्नी अहिले पनि बुझ्न सकिरहेको छैन । ‘तँ त धेरै टुप्पिइसकिछस् भाइ‘ भनी घोषणा गरेरै ब्लक हानिदिए मलाई । मैले ‘सरी दाइ’ भन्नै पाइनँ । तोरेस्नोभासमा कोरोनाले जागिरबाट हात धुनुपरेर खालीहात बस्नुपरेपछिका दुईवटा महत्त्वपूर्ण उपलब्धि यिनै भए मेरा ।
कहिलेकाँही सोच्छु म किन यी दिनहरूसित खुशी छैन । के मलाई थाहा नभएको हो र ? मैले त सबै भुक्तमानजति जापानमै छँदा काटिसकेको थिएँ । हामी निम्न मध्यमवर्गीय नेपालीका छोराछरी बाआमालाई ऋणको भारी बोकाई विदेश जानु भन्नुको अर्थ के रहेछ भन्ने त मलाई जापान बसाइमा नै अवगत भइसकेको थियो । विद्यार्थी भिसामा पढ्न गएको मान्छे मैले भाषा स्कुलकै पढाइ पूरा नगरी फर्किनुपर्यो । विश्वविद्यालय जाने त सपनै भयो । के त्यसमा मेरो दोष थियो त ? अहिले सोचिल्याउँदा मेरो अन्तरात्माले भन्छ दोष मेरो छँदै थिएन । दोष थियो त मेरो परिस्थिति अनि मेरा बाध्यताहरूको । जापान जाँदा लागेको खर्च जतिसक्दो चाँडो उठाउनुपर्ने बाध्यतामा म थिइनँ भने के मैले लुकिछिपी जापानी कानूनले विदेशी विद्यार्थीलाई अनुमति दिएको समयभन्दा बढी काम गर्नुपर्थ्यो र ? पारिवारिक दायित्व‚ सामाजिक दबाब अनि साथीसङ्गतिका अगाडि फलानाले जापान गएर यस्तो र उस्तो प्रगति गरिसक्यो भनाउनुपर्ने बाध्यता थिएन भने के म स्कूल जाने बेलासमेत काममा दगुर्थै र ? भाइबिहिनीहरूको भविष्य बनोस् भनी आफूभन्दा ठूला भाँडाभित्र पसी होटेलमा भाँडा माझ्ने म के आफ्नो पढाइको माया गर्दिनथें होला र ? हो यस्तै बाध्यताका बीचमा परी म भाषा स्कूलभन्दा ज्यादा कामतिर भाग्न थालेँ‚ स्कूलले दिएको चेतावनीलाई समेत बेवास्ता गर्दै र अन्तमा मेरो भिसा नवीकरण भएन । त्यो त हुनु नै थियो ।
मेरा सोचाइका लहरलाई भङ्ग गरिदिन्छ मेरो रुममेट । सोध्छ‚ ‘सोल्टी दिउँसोको भिडियो कस्तो बनायौ ? ल्याऊ हालुम ।‘ देखाइदिन्छु म र एकचोटि आफ्नै रूप देखेर तर्सिर्न्छ ऊ । गर्मी छल्न लगाएको थोत्रे क्याप‚ अनुहार छोप्ने कपडा अनि उस्तै लुगा‚ हातमा उही ऐँसेलु काट्ने कैंची । ‘के यो मै हुँ त ?’ भनेजसरी हेर्छ भिडियोमा आफूलाई तर पनि सुरिन्छ टिकटकमा हाल्न ।
‘के आफ्नै बेइजत गर्नी सुर छ र ?’ म बम्किन्छु‚ ‘यस्तो भिडियो देखे के भन्छन् तिम्रा साथीले ?’
मेरा कुराले थत्मरिन्छ ऊ । अल्छी जुम्सो यो पुतपुताउने गर्मीमा समेत कामबाट फर्केर नुहाउँदैन । ह्वास्स पसिनाको गन्ध आउँछ र म नाक खुम्च्याउँछु । आज उसलाई टिकटकमा भिडियो नहाली भएको छैन । फेरि भन्छ ऊ‚ ‘एउटा भिडियो त बनाउनैपर्छ आज ।’ अनि दिमागमा आउँछ उही भाइरल ‘गीत डालीमा सुगा र मैना छ सोचेझैँ जिन्दगी रैन छ ।’
ऊ उफ्रिन्छ राजेश हमाल पाराले र हाँस्दै भिडियो खिचिदिन्छु म । आफूलाई त स्टेपस्टेप छुट्याएर नाच्नुपर्छ । त्यही गीतको म्युजिक भिडियो सम्झिसम्झी जिउ हल्लाउँछु । ‘सोल्टी बबाल नाच्छन्‘ प्रशंसामा मेरो रूमेट भिडियो खिचिसकेर भन्छ ।
भिडियो सम्पादन गरिकेपछि मलाई कताकता चित्त बुझ्दैन । पृष्ठभूमिमा हामी सुत्ने ओछ्यान पनि आएछ । तल्लामाथि तल्ला खापेको स्कूलको होस्टलको जस्तो खाट‚ त्यसमाथि आफूले मात्रै तन्याक तुनुक पारेर ओछ्यान मिलाएर के गर्नु र अल्छीका सम्धी रुममेटको ओछ्यानको हालत त हेरिनसक्नुको रैछ । त्यो सबै भिडियोमा खिँचिए छ । टिकटकमा हाल्न त हाल्छु तर प्राइभेट गरेर मात्रै ।
उसले भने पहिल्यै हालिसकेछ टिकटकमा अनि त्यसैलाई फेसबुक कताकता सेयर पनि गरिसकेछ । पाएका प्रतिक्रियाले हौसिँदै ‘तिम्रा कति लाइक‚ कमेन्ट आए’ भन्दै म भा'थिम आयो । र फ्याट्टै सोध्यो‚ ‘सोल्टी आज त यति सबेरै छ‚ भोलि काम पनि छैन । आफू त रिलेटिभस्स कहाँ जाने होला है ?’
कोरोनाले निम्त्याएको मन्दी‚ कामको चाप र त्यसले दिने थकानसितै म त यहाँ आफ्ना मान्छे भएको केटो हुँ भन्नेसमेत बिर्सिकेको छु मैले ।
‘जान्नँ आज ।’ म छोटो जवाफ फर्काउँछु ।
‘मेरा आफ्ना कोइ भइद्या भए म त दिनदिनै जान्थें यार ।’ ऊ मलाई अझै चिढ्याउँछ । नियतवश हो कि अन्जानमै हो म खुट्याउन सक्दिनँ तर मलाई औधी रीस उठ्छ ऊसँग । जवाफ केही नदिएर फनन्क किचेनतिर लाग्छु ।
यो साला किचेनमात्रै मेरो आफ्नो प्राइभेट हुँदा हो त म कति ठुँसिठुँसि भर्थें होला साताभरिका लागि खानेकुराहरू । तर के गर्नु आफूले साँचोपाँचो गरेका चिजबिज आफूले खोजेका बेला कहाँ पाउनु र । मासु पकाउँ भन्दा अर्कैले चप्काइसकेको हुन्छ । जुस पिउँ भन्दा अर्कैको मुखमा परिसकेको हुन्छ । सागसब्जीको हालत उस्तै । लौ त्यो पनि सहियो सहियो । आफूले भनेको बेला खाना पकाउन पाए त ठूलो कुरा हुन्थ्यो । कोही न कोही किचेनमा पसेकै हुन्छ । कानमा लहरो ठुँसेको हुन्छ । कराइमा तेल हालेर कता हो कता भिडियो कलमा मस्त । कहिले तेल डढ्ने‚ कहिले भात डढ्ने त कहिले तरकारी दाल डढ्ने सामान्यजस्तै हो यहाँ । अझ पञ्जाबीहरू पसे भने त जाबो काउली पकाउन पनि खसीको मासु पकाउने भन्दा बढी समय लगाइदिन्छन् ।
दिक्क भएर सिटिङ रूममा आउँछु र दाइलाई कल गर्छु भनेर सोफामा बस्छु । कल गर्न कि थिचिसकेपछि झल्याँस्स हुन्छु‚ ‘ए हे दाइले त मलाई ब्लक गरेका छन् क्यार ।’
फेरि मलाई उही रुममेटको प्रश्न तीखो बनेर गड्छ ।
के गर्नु एउटा उमेर पार भइसकेपछि बाआमाले त काँधमा थापिरहन सक्दैनन् भने यो परदेशमा एक आफन्तले अर्को आफन्तको निम्ति के के मात्रै गरिदिन सक्छ र । उनीहरूका आफ्नै सन्ताप छन्‚ छन् आफ्नै बोझ‚ जिम्मेदारी र चुनौतीहरू । जति सहजिकरण गरिदिनसक्थे मेरा निम्ति गरिदिए । तोरेस्नोभासमा रेस्टुरेन्टको काम ठप्प भएपछि यता काम मिलाइदिने पनि त उनै हुन् । बिचरा आफ्नै सानो नानीसमेत अर्कैका जिम्मा लगाई नेपाल छाडेका उनीहरू आफ्नो बालखको यादले तड्पिऊन् कि मेरो पीरलो गरून् ? गुनासो गर्ने ठाउँ नै छैन मैले ।
‘आमा‚ म थाकेँ‚ सक्दिनँ यस्तो ठाउँमा टिक्न । पुग्यो मलाई युरोपेली पासपोर्ट बोक्ने रहर ।‘ कोक्किइ कोक्किइ रूँदै भन्न मन लाग्छ आमासित भिडियो कलमा । तर सकेसम्म सामान्य बन्ने कोसिस गरेर कुरा गर्छु । आमा हुन् । सन्तानको मनोदशा किन बुझ्दिनथिन् र‚ सोध्छिन्‚ ‘बाबु‚ तँलाई सञ्चो छैन‚ हो ? कृत्रिम जवाफले टालटुल पार्न खोज्छु तर उनी कहाँ मान्थिन् र । उल्टै ‘अब ठूलो भइस्‚ आमालाई बिर्सिस्‚ आफूलाई परेको कुरा किन सुनाउँथिस् र‘ भनी घुर्की लगाउन थालिन्‚ घुर्कीमा मात्रै कहाँ अडिन्थिन् र रोइहालिन् । आमा रोएपछि मेरो मन कसरी थामिने ? म पनि रोइदिएँ । उहिल्यै एकचोटि ‘आमाको माया-गाउँको माया झल्झली आँखामा‚ सुस्केरा हाली सुसेल्न मन बारी र पाखामा‚ एकछिन भए नि रुन मन आमाको काखमा‘ भन्दै टिकटक भिडियो बनाएर पठाइदेको थेँ‚ दिनमा दशचोटि त्यही लगाउन लाएर हेर्दी रैछिन् र रुँदी रैछिन् । भाइले झर्किँदै सुनाउँदैथियो ।
अन्तमा हार खाएर‚ ‘केही होइन घरको आमा न्यास्रो लाग्यो‚’ भनेँ ।
‘न्यास्रो लाग्यो भने सानिमा कहाँ जा ।‘ आमाले फेरि दिक्क लगाइन् ।
‘ल ल जाउँला ।’ भनेर फोन काटिदिएँ र वाथरुम गएँर मुख धोएँ । आएर फेरि सिटिङ रूमकै सोफामा फ्यात्त बसें जिउ फालेर ।
सोचाइका लहर र तरङ कहिले कता कहिले कता फाल हाल्छन् । खाना बनाउने‚ खाने सबै मुड लुप्त भइदिन्छ । घोप्टिन्छु ओछ्यानमा आएर । र एकछिन नोस्टालजिक भइदिन मन लाग्छ । अनि मोबाइल उघार्छु र हेर्नथाल्छु पुराना टिकटक भिडियोहरू । कति खुशी हुन्थी ऊ जब म उसका र आफ्ना फोटोहरू फ्रेमिङ गरेर टिकटक भिडियो बनाउँथें । मख्ख पर्दै लभका इमोजीहरू पठाउँथी र भन्थी‚ ‘बूढा‚ जिन्दगी सधैँ यस्तै भैदिए ?’
भन्थी‚ ‘मेरो बूढो‚ हजुरकै काखमा मर्न पाऊँ ।’
‘मेरै जिन्दगीको ठेगान छैन । कसलाई था'छ र । हेर् त म कहाँ छु कहाँ म मरे भने तँ मलाई भेट्नै पाउँदिनस् ।’ मेरा कुराले ऊ विह्वल हुन्थी र म पनि रोइदिन्थेँ । आफू त लोक दोहरीमा टिकटक बनाउनमा माहिर र तुरुन्तै‚ ‘आउँथ्यौ समाउथ्यौं भारी बिसाउँदा‚ मैले फकाउँथे तिमी रिसाउँदा‘ टाइपका गीतमा टिकटक बनाइहाल्थें र ऊ तुरुन्तै फक्किइहाल्थी पनि ।
एक्कै छिन उसको सन्देश पाइनँ भने‚ गीति सन्देशसहित टिकटक म्यासजे पठाइहाल्थें । ऊ बिचरी जान्दी हो त‚ गीतका भाकामै भिडियो पठाइहाल्दी हो ।
झलल आँखामा नाच्न थाल्छे उही पापिनी‚ खिरिलो ज्यान‚ पातला ओठ‚ ठूला आँखा‚ सलल परेको लामो कालो कपाल‚ हेर्दै निर्दोष लाग्ने अनुहार । सोच्थें उहिले । यस्ती कोमल छे यो । मेरा भने यस्ता चोरका जस्ता ठाडा न ठाडा बिझ्ने दारी छन् । विहेपछि चुम्बन गर्दा ‘दारीले बिझायो‘ भनी भने ? यही कुरा सोधेंको थिएँ एकदिन उसलाई । अहिले त्यही सम्झेर हाँस्न मन लाग्यो तर हृदय दग्ध थियो । हाँसोको सट्टा झर्यो आँशु‚ बगिरहन दिएँ । आज सबै निखार्छु उसका यादहरू जस्तो लाग्यो र आँशु बगिरह्यो ।
...
सोल्टी उठ‚ क्या हो सधैँ मलाई जगाउँने मान्छे आज भने अहिलेसम्म सुतिरहेको ?‘ रुममेटले डाकैले खाउँलाजस्तो गर्यो । के के न बितेछ भन्ठानेर जर्याकजुरूक उठें । ‘छिटो गर‚ कम्पनीको गाडी आउने बेला भइसक्यो ।‘ ऊ अझै कराइरह्यो ।
न कुनै ऊर्जा थियो आज काममा जाने न त मनमा कुनै उत्साह नै बाँकी थियो । केहीबेर बाटामा कुरेपछि कम्पनीको गाडी आयो । गाडी के भन्नु र नरकमा लैजानलाई यमराजका दूतहरूले प्रयोग गर्ने वाहन बरु यो भन्दा राम्रो हुँदो हो । बरू अमेरिकी बन्दीगृह ग्वान्टानामोमा राख्न लैजाने अपराधीलाई पुर्याउन अलिक गतिलो गाडी प्रयोग गर्छन् होला । यसमा बस्यो भने त दिन के हो रात के हो थाहा हुँदैन अनि कता लगेको हो पनि थाहा नहुने ।
निसास्सिएर मुर्छा पर्छु कि जस्तो लाग्छ कहिल्यै त राम्ररी सास फेर्न नपाएर । यही नरकयात्रा गराउनेजस्तो गाडीमा उक्लिन्छन् सबैजना‚ म पनि उक्लिन्छु गलेका खुट्टा उचाल्दै । झ्याप्प ढोका बन्दभएपछि जीवनै सकिएजस्तो महसुस हुने । गाडीकै विषयमा एकजनाले कुरा निकाल्छ र गलल हाँस्छन् सबैजना । मेरो मनभरि भने यही गाडीको जस्तै अँध्यारो पोतिएको छ । हृदयभरि कुहिरो नै कुहिरो डम्म छ । उही हिँउदताका पानी पर्दा तोरेस्नोभासमा लाग्ने लाग्ने कुहिरोजस्तै ।