रंगमञ्चमा नयाँ-नयाँ नाटक, खोइ त दर्शक ?

पुस १६, २०७९ |सुबिन्द्र श्रेष्ठ
रंगमञ्चमा नयाँ-नयाँ नाटक, खोइ त दर्शक ?

काठमाडौं । कोभिड संक्रमण र लकडाउनले थलिएको नेपाली रंगमञ्च विस्तारै उठ्न थालेको छ । थिएटरहरु थपिएका छन्, कलाकारहरुको सहभागिता बढेको छ । तर, प्रचार अभावका कारण अपेक्षाअनुसार दर्शक भने तान्न नसकिएको रंगकर्मीहरुको विश्लेषण छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका १० वटा नाटकघरमा नियमितजसो नाटक मञ्चन भइरहेका छन् । उपत्यकाबाहिर पनि रंगकर्म अभियान चलिरहेका छन् । यसबाहेक विदेशका नाट्य महोत्सवमा पनि नेपाली नाटकले स्थान बनाउन थालेका छन् ।

खासगरी भूगोल र संस्कृतिमा आधारित नाटक पछिल्लो समय रंगमञ्चमा देखाइने खुराक बनेको छ । यसले कोभिडपछि दर्शकलाई नाटक घरको बाटो खोलेको छ ।

यसै वर्ष पुनरागमन भएको आरोहण गुरुकुलमा राष्ट्रिय नाटक महोत्सव र मण्डला थियटरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना भए, जसमा नेपाली मौलिक नाटकले महत्त्वपूर्ण स्थान पाए । नाटक सिकेर अन्य अवसरका ढोका खोल्न चाहने युवापुस्ताको आकर्षण पनि रंगमञ्चप्रति बढेको छ ।

तर दर्शकहरुको आकर्षण अपेक्षाअनुसार नभएको अनुभव रंगकर्मीहरुले गरेका छन् । काठमाडौंका गुरुकुल, सर्वनाम, थिएटर मल, मण्डला, शिल्पी, कौसीलगायत थिएटरमा लकडाउन अघि वर्षमा ३० देखि ४० वटासम्म नाटक मञ्चन हुने गर्थ्यो । नाटक घरसँगै नाटकका संख्यामा वृद्धि भए पनि राम्रा कथावस्तुको अभावले गुणात्मक नाटकको कमी एकातिर छ भने अर्कातिर राम्रै नाटकको पनि प्रचार नहुँदा नाटकघरसम्म दर्शकलाई डोर्‍याउन नसकिए उनीहरुको भनाइ छ ।

रंगमञ्चमा आकर्षण बढाउन रंगकर्मीहरुले एकातिर राम्रा नाटक पस्कन मिहिनेत गर्नुपर्ने देखिन्छ भने अर्कोतिर प्रचारप्रसारको दायरा पनि फराकिलो बनाउनुपर्ने देखिन्छ । 


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement