हात्तीले सताएपछि झापामा वैकल्पिक खेती

भाद्र २२, २०८१ |गणेशमान मुखिया
हात्तीले सताएपछि झापामा वैकल्पिक खेती

झापा । झापाको बाहुनडाँगी जंगली हात्ती प्रभावित क्षेत्र भनेर चिनिन्छ । चार दशकअघि भारतबाट फाट्टफुट्ट नेपाल प्रवेश गर्ने जंगली हात्ती, अहिले बथानका बथान प्रवेश गर्न थालेका छन् । हात्तीको हुलले अन्न खाएर भन्दा पनि कुल्चिएर सखाप पार्दछ । त्यहीभएर पछिल्लो समय बाहुनडाँगीका बासिन्दा अन्नवालीको वैकल्पिक खेतीतर्फ लागेका छन् ।

झापा बाहुनडाँगीका निलकण्ठ तिवारी किसानका रुपमा परिचित हुनुहुन्छ । करीव ३ विघा जग्गामा धान, मकैजस्ता अन्नवाली लगाउँदा हात्तीले खाएर सखाप बनाएपछि तिवारीले बैकल्पिक खेतीको रुपमा शुरुमा सुपारी रोप्नुभयो । सुपारी बगानमै चिया थप्नु भयो । डिलतिर तेजपातको बोट पनि रोप्नुभयो । कतिसम्म भने सुपारीको बोटमा मरिचको लहरा लगाउनुभयो । यसरी खेती गर्दा जंगली हात्तीको क्षति नगन्य भएको छ भने आम्दानी समेत बढेको छ ।

करुण अधिकारी, झापा बाहुनडाँगीकै किसान हुनुहुन्छ । ५ विघा खेतीको पाकेको धान घर भित्राउन नपाउदाँ उहाँ निकै दुःखी बन्नु भयो । पाकेको वाली जंगली हात्तीले नष्ट गरेपछि उहाँले खोजेको वैकल्पिक खेती निकै फस्टाएको छ । उहाँले विकल्पमा तेजपात, सुपारी र कागतीको खेती थाल्नुभयो । कागती बोटको काढााले घोच्ने भएकोले हात्ती बारीमा पस्नै नसक्ने उहाँको अनुभव छ ।

चार दशकयता झापाको बाहुनडाँगीमा मानव हात्तीबीचको द्वन्द जारी छ । द्वन्द न्यूनिकरण र मानव हात्ती सअस्थित्व हुनु पर्ने भन्दै जनप्रतिनिधिले अनेक प्रयास गरेका छन् । स्थानीय तहले हात्तीले मन नपराउने खेतीवाली जस्तै चिया, सुपारी, तेजपात, कागतीका विरुवा उपलब्ध गराँउने जनाएको छ ।

पछिल्लो समय मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुनडाँगीको खेतीयोग्य जमिनमा ५० प्रतिशत जमीनमा मात्र अन्नवालीको खेती गरिएको छ । बाँकी जमीनमा नगदे कृषिबाली झुलिरहेका छन् ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement