काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उपभोक्ता अदालतको उद्घाटन गर्नुभएको छ । विश्व उपभोक्ता दिवसका अवसरमा प्रधानन्यायाधीश राउतले उपभोक्ता अदालतको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रधानन्यायाधीश राउतले गुणस्तरीय वस्तु तथा सेवामा पीडित उपभोक्ताको न्याय निरूपण हुने बताउनुभयो । उहाँले औषधिमा हुने गरेको लापरबाहीदेखि इन्जिनियरिङसम्मका मुद्दा उपभोक्ता अदालतको विषय भएको जानकारी दिनुभयो । गुणस्तरहीन वस्तुको बिक्री वितरण गरिँदा थुप्रै उपभोक्ता पीडित हुने गरेकाले अब अदालतमार्फत् दोषीलाई कारबाही गरेर पीडितलाई न्याय प्राप्त हुने उहााको भनाइ थियो ।
सरकारले संविधानको धारा ४४ को मौलिक हक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो । तर ऐन जारी भएको ६ वर्षसम्म अदालत गठन हुन नसक्दा संवैधानिक व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन । उपभोक्ताले पनि आफू ठगिएको गुनासो लिएर जाने ठाउँ पाएका थिएनन् । उपभोक्ताहरु आफू ठगिएमा उपभोक्ता अदालतमा जान सक्ने बाटो पनि खुलेको छ ।
कार्यक्रममा वाणिज्य सचिव गोविन्दबहादुर कार्कीले उपभोक्ताको हकहित संरक्षणका लागि अदालतबाट सहयोग पुग्ने बताउनुभयो ।