बाँके । बाँकेको जयन्दु बाल सुधार गृहमा दुई समूहबीच भएको झडप नियन्त्रणमा आएको छ । झडपका क्रममा ४२ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर छ । झडप नियन्त्रणमा लिने क्रममा ३ जना प्रहरी पनि घाइते भएका छन् ।
बाल सुधार गृहबाट बाहिर निक्लेका २७० जनाभन्दा बढी बालक सुधार गृह नै फर्किएका छन् । बाहिर निस्किएकाहरूले आसपासका पसलमा लुटपाट समेत गरेको प्रहरीले जनाएको छ । होली मनाउने विषयलाई लिएर दुई पक्षबीच हिजो दिउँसो विवाद भएको र राति अर्को पक्षले सुतेका बेला एक्कासि खुकुरीले आक्रमण गरेको सुधार गृह प्रशासनले जनाएको छ ।
त्यस क्रममा घाइते भएका ४२ जनाको नेपालगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये टाउकोमा चोट लागेका ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
यसैबीच बाल सुधार गृहमा रहेका बालकका अभिभावक तथा आफन्तहरूले आफ्ना सन्तान असुरक्षित भएको भन्दै प्रशासनसँग सुरक्षा माग गरेका छन् । यसअघि बाँकेको नौबस्तामा रहेको बाल सुधार गृहमा पनि दुई समूहबीच झडप भएको थियो । सुधार गृहभित्र निगरानी नहुँदा लागूऔषधको कारोबार तथा सेवन हुने गरेको भनेर आलोचना हुने गरेको छ ।