राजागंज : कथा अन्तरद्वन्द्वको

चैत्र २, २०८१ |उज्वल ढुंगाना
राजागंज : कथा अन्तरद्वन्द्वको

चैत १ गतेबाट नेपालका सिनेमाहलहरूमा दीपक रौनियार निर्देशित फिल्म राजागंज लागेको छ । यसअघि रौनियारका दुई फिचर फिल्म प्रदर्शन भइसकेका छन्, हाइवे (२०६९) र सेतोसूर्य (२०७३) । 

हाइवे कुनै समय नेपालमा राजनीतिक वा अरू बहानामा हुने ‘नेपाल बन्द’को मुख्य परिवेशलाई लिएर बनेको फिल्म हो । सेतोसूर्य माओवादी सशस्त्र युद्धमा हिँडेको पात्रको परिवार र समाजको कथा । नेपाली समाजमा भएका राजनीतिक तथा सामाजिक विषयमा फिल्म बनाएका रौनियारको तेस्रो फिचर फिल्म राजागंज मधेश आन्दोलनले सिर्जना गरेको परिवेशको एउटा घटनामा केन्द्रित छ । 

फिल्ममा धेरै सिन जुलुस गरेको, मसाल बोकेको, पुत्ला जलाएको, नारा लगाएको देखिए पनि मधेश आन्दोलनलाई भने आंशिकरूपमा मात्र छुन सकेको छ । फिल्मको कथा दीपक रौनियार, डेभिड बारकेर र आशा मगरातीले लेखेका हुन् । डाइरेक्टर अफ फोटोग्राफीमा सेल्डन चाउ र ओरजिनल म्युजिकमा विवेक म्याडला छन् । म्याडला अमेरिकाको नेशनल एकेडेमी अफ टेलिभिजन आर्ट एन्ड साइन्सेसले दिने डेटाइम एम्मी अवार्डको चारपल्टका विजेता कम्पोजर समेत हुन् ।

कथा र दृश्यमा जम्प कट, फास्ट कटको प्रयोगले गर्दा फिल्म निकै छिटो कुद्छ, निर्देशकको यसअघिका फिल्महरूको तुलनामा । कथाका पात्रहरू स्थापित नहुँदा नहुँदै पनि फिल्मको ब्याकग्राउन्ड म्युजिक, कलर र क्यामरा मुभमेन्ट यी तीनको संयोजनले दर्शकलाई १०८ मिनेटसम्म जोडेर राख्ने काम गरेको छ । कतिपय ठाउँमा भने क्यामरा मुभमेन्ट अनावश्यक र आँखालाई सकस दिने खाल्का पनि छन् ।

फिल्ममा आशा मगराती, निकिता चाण्डक, आरती मण्डल, विजय बराल, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई आदिको अभिनय देख्न पाइन्छ । फिल्म आशा मगराती अर्थात् मुख्य पात्र पहाडिया इन्स्पेक्टर पूजा थापाको सेरोफेरोमा घुमेको छ । मधेश आन्दोलनकै समयमा राजागंजबाट अपरहणमा परेका दुई बालक खोज्न काठमाडौंबाट खटिएकी प्रहरी हुन पूजा सर । र उनैलाई सहयोग गर्न जिल्ला प्रहरी कार्यालयबाट खटिएकी छिन्, अर्को मधेशीमूलकी इन्स्पेक्टर ममता गुप्ता (निकिता चाण्डक) । 

यी दुवै पात्रको सरकारी तह एउटै भए पनि पाउने अवसर र आउने चुनौती फरक छ । एउटा संघर्षशील मधेशी प्रहरी र वर्षौंदेखि बाउबाजेबाट सेनापुलिसमा छिर्ने लिगेसी पाएको पहाडिया प्रहरी, यी दुवै पात्र प्रत्यक्ष वा अप्रत्यक्षरूपमा धेरैपल्ट जुधेका छन् । 

सन् १९९९ मा प्रदर्शन भएको हिन्दी फिल्म सरफरोसमा एउटा दृश्य छ जहाँ, इन्स्पेक्टर सलिम (मुकेश ऋषि), एसीपी अजयसिंह राठौर (आमीर खान) लाई भनिरहेको हुन्छ- ‘एउटा अपराधी मेरो हातबाट फुत्किन्छ, मलाई कारबाही हुन्छ । किनकि म मुस्लिम हुँ...तपाईंको कस्टडीको अपराधी मर्छ कोही केही बोल्दैन । किन ? किनकि तपाईं हिन्दू हो ।’

सरफरोसको सलिम र राजागंजको ममतामा केही समानताहरू भेटिन्छ- एउटा पात्रको रूपमा, नियतिको रूपमा ।

फिल्मको मुख्य पात्र पूजा निकै निरीह र कमजोर देखिन्छ, इन्स्पेक्टरको भूमिकामा । त्यसको तुलना गर्ने हो भने अर्की इन्स्पेक्टर ममता सशक्त उभिएकी छिन्, जो आफूलाई अप्ठ्यारो पर्दा बोल्न, धम्क्याउन डराउँदिनन् । प्रहरी जागिर खाएको वर्षाैं भएको भनिए पनि पूजा थापाको बोलीवचन र हाउभाउले दर्शकलाई पत्याइहालूँ जस्तो लाग्दैन । यो सब भौगोलिक वा लैंगिक पहिचानले गर्दा भएको हो वा निर्देशकीय इन्ट्रेस्टले, बुझ्न सकिन्न ।

फिल्मका सिनहरूमा ‘इन्सर्ट’को प्रयोग एकदम धेरै गरिएको छ । जहाँ एक फ्रेमले पनि दर्शकहरूसँग केही भन्न खोजे जस्तो देखिन्छ । कहिले पृथ्वीनारायण शाहको फोटो, कहिले अहिलेसम्म भएका प्रहरी प्रमुखहरूको फोटो त कहिले राजा वीरेन्द्रको परिवार सहितको फोटो- सबैले केही न केही बोलेकै छन्, मौन भएरै पनि ।

रिलिजको केही दिनअघि हालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो भनाइ प्रयोग गरिएको र सामाजिक सद्भाव भड्किने आरोपमा सेन्सर बोर्डले फिल्म पास गरेन । सामाजिक सञ्जालमा गर्मागरम बहसहरू पनि भइरहेका थिए, कलामाथि सेन्सर हुनु हुन्न भनेर । हलमा चलिरहेको फिल्ममा केपी शर्मा ओली बोलेको भिडिओ छोपिएको छ, र जहाँ जहाँ नाम लिइएको छ त्यहाँ म्युट गरिएको छ ।

मलाई चाहिँ फिल्म हेरेपछि ओलीको भिडिओ अनावश्यक रूपमा प्रयोग गरिएको महसूस भयो । निर्देशकले बालक अपहरणको ‘मोटिभ’ बनाउन खोज्दै केही तथ्य तोडमोड पनि गरेका छन् । काल्पनिक कथामा कुनै एक नेताले आफ्नो पार्टी कार्यालयमा बोलेको कुरोलाई प्रधानमन्त्रीले बोलेको हो भनेर प्रयोग भएको देख्दा फिल्म हेर्ने मान्छेलाई किन र केको लागि गरियो भन्ने प्रश्न आउन सक्छ । यो फिल्म कुनै डकुड्रामा, डकुमेन्ट्री वा कुनै बायोपिक भएको भए चाहिँ प्रसंग फरक हुन सक्थ्यो ।

भलै केपी शर्मा ओलीले मधेश र मधेशीका मामलामा दिएका केही अभिव्यक्तिहरू विवादित नबनेका ‍होइनन्, तर फिल्ममा वास्तविक टाइमलाइन र अरू सहायक परिवेश र कथाबिनै मात्र नेताको एउटा टुक्रा भनाइको प्रयोग सान्दर्भिक देखिन्न ।

नसुहाउँदोसँग हिन्दी बोल्ने छोटो भूमिकामा रहेकी आरती मण्डल आफ्नो अभिनयले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकी छिन् ।

घोत्लिएर हेर्ने हो भने फिल्ममा राजागंज, महिला र पुरुष, कालो र सेतो, मधेशी र पहाडी, धनी र गरिब, नेता र जनता, यहाँसम्मकी मम र पुरी तरकारीबीचको पनि अन्तरद्वन्द्वै अन्तरद्वन्द्वले भरिएको तनावको शृंखला बनेको देखिन्छ ।


Image

उज्वल ढुंगाना

ढुंगाना कान्तिपुर टेलिभिनमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement