१५ लाखमा डाक्टर बनाउने ख्वप विश्वविद्यालयको योजना

भाद्र १५, २०८१ |नारायण किलम्बू
१५ लाखमा डाक्टर बनाउने ख्वप विश्वविद्यालयको योजना

काठमाडौं । भक्तपुरलाई ज्ञान विज्ञानको शहरका रुपमा स्थापना गर्ने र १५ लाख रुपैयाँमै एमबीबीएस पढाउने लक्ष्यसहित दुई दशकअघिको परिकल्पनाअनुसार सरकारले ख्वप विश्वविद्यालय विधेयक अघि बढाएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेका ८ वटा क्याम्पसमा अहिले झन्डै ८ हजार विद्यार्थी अध्ययनरत छन् । यिनै शैक्षिक संस्थालाई समेटेर विश्वविद्यालय संचालन गर्ने गरि विधेयक अघि बढाइएको हो । यसबाहेक नेपाल विश्वविद्यालय, शहीद दशरथ चन्द चिकित्सा शिक्षा विश्वविद्यालय तथा तिलगंगा नेत्र विश्वविद्यालय संघीय संसदमा विचाराधीन छ । नेपालमा संघीय विश्वविद्यालय १३ वटा, प्रदेश विश्वविद्यालय ५ वटा र विश्वविद्यालयसरह मान्यता पाएका ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । 

भक्तपुरलाई ज्ञान विज्ञानको शहरसँगै ख्वप विश्वविद्यालय स्थापना गर्ने उदेश्यले नगरपालिकाले २०५६ सालमा ख्वप उच्च मावि स्थापना गरेको थियो । सस्तो र गुणस्तरीय शिक्षाकै कारण विद्यार्थीको चाप बढ्दै गएपछि नगरपालिकाले दुईवटा इन्जिनियरिङ, बहुप्राविधिक अध्ययन संस्थान, कानुनलगायतका ८ वटा क्याम्पस स्थापना गरिसकेको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेका क्याम्पसमा देशभरका करिब ८ हजार विद्यार्थी अध्यनयन छन् । ४२ हजारले उच्चशिक्षा पुरा गरेका छन् । विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आर्थिक भार नपर्ने गरी सरकारले यी शिक्षण संस्थालाई नै समेटेर ख्वप विश्वविद्यालय विधेयक अघि बढाएको हो ।

त्यसो त २०६४ सालमै यो विधेयक संसदमा पुगेको थियो । तर त्यसबेला राजनीतिक आग्रह पूर्वाग्रहका कारण अघि बढ्न सकेको थिएन । विश्वविद्यालयमा कुलपति र उपकुलपतिको सट्टा बोर्ड अफ ट्रष्ट्रिको नयाँ प्रावधान राखिएको ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएर सुलभ शुल्कमा विद्यार्थीले उच्चशिक्षा अध्ययन गर्न पाउने नगरपालिकाले जनाएको छ ।

सरकारले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस अध्ययनका लागि अहिले ४२ लाख शुल्क निर्धारण गरेको छ । तर ख्वप विश्वविद्यालयले मान्यता पाएमा १५ लाख रुपैयाँमै अध्ययन गर्न पाउने दाबी नगरपालिकाको छ ।

विश्वविद्यालय स्थापनाका लागि नगरपालिकाले सल्लाघारीस्थित १ सय ८ रोपनी जग्गा उपलव्ध गराउन नेपाल ट्रष्टलाई आग्रह गर्दै आएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement