काठमाडौं नजिकै पहिरोले ८ घण्टा सडक अवरुद्ध हुँदा आक्रोशित यात्रु भन्छन्- राज्यको लापरबाही

भाद्र ५, २०८१ |प्रदीप लेखी
काठमाडौं नजिकै पहिरोले ८ घण्टा सडक अवरुद्ध हुँदा आक्रोशित यात्रु भन्छन्- राज्यको लापरबाही

काठमाडौं । संघीय राजधानीको लाइफलाइन मानिने नागढुंगा-नौबीसे सडक खण्डमा पहिरो गएर बुधबार ८ घण्टा यातायात अबरुद्ध हुँदा हजारौं यात्रुले सास्ती खेप्नुपर्‍यो । यात्रुले दिनभर नै सडक तथा सवारीमै थुनिएर बस्नुपर्‍यो । काठमाडौं प्रवेशको मुख्य राजमार्ग अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन । बिहान ९ बजेदेखि अवरुद्ध भएको सडक साँझ ५ बजेपछि एकतर्फी रुपमा मात्र सञ्चालनमा आए पनि यातायातका साधनको लाम छ । काठमाडौं जोड्ने भरपर्दो वैकल्पिक सडक नहुँदा राजमार्गमा हुने स-साना अवरोधले पनि हजारौं यात्रु र सवारी साधन प्रभावित हुने गरेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका- २ मा पर्ने नागढुंगामा बिहान सवा ९ बजेदेखि नै पहिरो र्झन थालेपछि यातायात सञ्चालनमा रोक लगाइएको थियो । ११ बजेपछि त झन् ठूलो पहिरोसँगै रुखहरुसमेत ढलेपछि राजमार्ग अस्तव्यस्त नै भयो । पहिरो गएको ठाउँ काठमाडौं भित्रिने मुख्य नाका चेकपोष्टबाट करिब एक किलोमिटर टाढा मात्रै हो ।

पहिरो पन्छाउन सडक विभागका दुई वटा र चन्द्रागिरी नगरपालिकाको एउटा डोजर दिनभर खटिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि पहिरो पन्छाउन खटिए । एकातिर पहिरो गइरहेको थियो भने अर्कोतिर पन्छाउने काम पनि धमाधम भइरहेको थियो । सीमित स्रोत साधनले पहिरो पन्छाउन ढिला भइरहँदा हजारौं सवारी साधनको लाम लागेको थियो । पहिरो गएको ठाउँदेखि २० किलोमिटर पर नौबिसेसम्म नै सवारी साधनको लाम थियो । पट्यारलाग्दो गरी बसेका यात्रु पहिरो पन्छाउन ढिलाइ भएको भन्दै आक्रोसित भएका थिए । उनीहरुले राज्यले लापरबाही गरेर यत्रो समय बर्बाद गरेको गुनासो गरे ।

यो सडकमा साना-ठूला गरी दैनिक ४० हजार सवारी साधनको आवतजावत हुन्छ । बिहानदेखि बाटो खुल्ने आशमा गाडीभित्रै बसेका कयौं यात्रुले त खाना र पानीसम्म पाएनन् । उपचारका लागि एम्बुलेन्समा काठमाडौं आउँदै गरेकाहरुको पीडा त झन् भनिसाध्य छैन ।

यात्रुहरु दिनभर गन्तव्यमा पुग्न नसकेको अवस्था त छँदैछ, भोकभोकै थुनिएर बसेकाहरुलाई राज्यका निकायले विकल्पसमेत दिन सकेनन् ।

पानी पर्न रोकिएपछि करिब साँझ ५ बजेपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ । योसँगै दिनभर रोकिएका सवारी साधन पालैपालो गन्तव्यतर्फ लागेका छन् ।

संघीय राजधानी नजिकैको मुख्य राजमार्ग ८ घण्टासम्म पूर्णरुपमा अबरुद्ध हुँदासमेत सरकारले बेलैमा पहिरो पन्छाएर खुलाउन सकेन । जबकि सरकारले मुख्य राजमार्ग अबरुद्ध भए तत्काल सञ्चालनमा ल्याउने जनशक्ति र उपकरण तैनाथी अवस्थामा रहेको बताउने गरेको छ । तर, यो राजमार्ग अबरुद्ध हुँदा खुलाउन भएको ढिलासुस्तीले राज्य कति जिम्मेवार छ भन्ने प्रष्ट भएको छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement