उच्च शिक्षा अध्ययनका लागि दैनिक बचत १ रुपैयाँ

इलामको रोङ गाउँपालिकामा अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन
श्रावण २७, २०८१ |गणेशमान मुखिया
उच्च शिक्षा अध्ययनका लागि दैनिक बचत १ रुपैयाँ

इलाम । इलामको रोङ गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरेको छ । उच्च शिक्षा अध्ययनका लागि खर्च जोहो गर्न सुरु गरिएको कार्यक्रम प्रभावकारी भएको भन्दै विद्यार्थी र अभिभावक उत्साहित भएका छन् । वित्तीय साक्षरता, उद्यमशिलता र बचत गर्ने बानी विकास गर्न गाउँपालिकाले विद्यार्थी बचत कोष सञ्चालन गरेको हो ।

विद्यार्थीले भनेजस्तै भविष्यमा उच्च शिक्षा अध्ययनको लागि दैनिक बचत १ रुपैयाँ अति उपयोगी बन्नेछ । अझै विद्यार्थीले एक रुपैयाँको महत्व बुझ्नेछन् । पैसाको महत्व बुझेपछि बचत गर्ने बानीको विकास हुनेछ । विद्यालय लागेको दिनको गाउँपालिकाले दैनिक एक रुपैयाँ र विद्यार्थीले न्यूनतम एक रुपैयाँ जम्मा गर्नुपर्ने भए पनि विद्यार्थी बढी नै रकम बचत गर्ने गरेका छन् ।

गाउँपालिका र प्राइम बैैकबीच विद्यार्थी बचत कोष सञ्चालनको सम्झौता भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत १ हजार ८ सय ६९ जना विद्यार्थीको खातामा प्रति विद्यार्थी १ सय रुपैयाँका दरले एकलाख ८७ हजार रुपैयाँ बचत गरिदिएको छ । विद्यालय अध्ययन पूरा गरिसकेपछि मात्र विद्यार्थीले बचत रकम फिर्ता पाउँनेछन् ।

विद्यार्थी बचत कोषमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुनेछन् । विद्यालयमा नै रकम बचत गरिने छ । प्रमाणको लागि सबै विद्यार्थीको पास बुक हुने छ । पालिका दैनिक १ रुपैयाँ बचत गरिदिए पनि विद्यार्थीले एक भन्दा बढी रकम जम्मा गर्न सक्ने छन् । आजको सानो बचतले भोलिको उच्च शिक्षा आर्जन गर्न रकम अभावले बन्चित हुनु नपर्ने अवस्था बनाउन लागि परेको गाउँपालिकाको कथन छ ।

रोङ गाउँपालिकामा ३० वटा सामुदायिक विद्यालय छन् । जसमा १ हजार ८ सय ६९ विद्यार्थीको गत आर्थिक वर्षको ८ महिनामा १९ लाख रकम बचत भएको छ । नयाँ सत्रमा १ सय १२ जना विद्यार्थी भर्ना भइसकेका छन् ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement