काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार दिउँसो १२ बजेसम्म आफ्ना बन्धक रिहा नगरे गाजा युद्धविराम सम्झौता अन्त्य गर्ने र भीषण आक्रमण थाल्ने चेतावनी दिनुभएको छ ।
हमासले अर्को सूचना जारी नहुँदासम्म थप बन्धक रिहाइको कार्य स्थगित गर्ने घोषणा गरेपछि त्यसको प्रतिकारमा नेतन्याहुको यस्तो चेतावनी आएको हो । हमासले इजरायलमाथि सम्झौता अनुरुपको मानविय सहायता सामग्री गाजामा प्रवेश गर्न नदिएको लगायतका आरोप लगाउँदै बन्धक रिहाई कार्य स्थगनको घोषणा गरेको थियो ।
प्रधानमन्त्री नेतन्याहुले आफुले इजरायली सेनालाई गाजाभित्र र यसको चारैतर्फ जम्मा हुन आदेश दिइसकेको समेत बताउनु भएकोछ । नेतन्याहुले यो अल्टिमेटम बाँकी सबै ७६ जना बन्धक रिहाइकालागि दिनुभएको हो वा पूर्व योजना अनुरुप शनिबार रिहा गर्ने भनिएका तीन जना बन्धकका सन्दर्भमा दिनु भएको हो, प्रष्ट भएको छैन । तर इजरायली सरकारका एक मन्त्रीले भने नेतन्याहुले यो चेतावनी सबै बन्धकका सन्दर्भमा दिनु भएको बताउनु भएको छ ।
हमासले बन्धक रिहाइ स्थगित गर्ने घोषणा गरे लगत्तै अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले शनिबार दिउँसो १२ बजे सम्ममा सबै बन्धक रिहा नभए इजरायलले युद्धविराम सम्झौता रद्द गर्नुपर्ने सुझाव दिनुभएको थियो । ट्रम्पको लाइन अनुरुप नै नेतन्याहुको यो चेतावनी आएको हो । मंगलबार इजरायली मन्त्रिपरिषद्को सुरक्षा समितिको चार घण्टासम्म चलेको बैठकपछि जारी भिडियो सन्देशमा नेतन्याहुले राष्ट्रपति ट्रम्पले अघि सारेको शर्तको स्वागत गर्नु भएको थियो ।
यता नेतन्याहुको चेतावनी पछि जवाफी प्रतिक्रिया दिँदै हमासले आफूहरु युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको र कुनै जटिलता वा ढिलाई भए इजरायल नै यसका लागि जिम्मेवार हुने बताएको छ ।
नेतन्याहुको चेतावनी पछि तेलअबिबमा भेला भएका प्रदर्शनकारी र बन्धकका आफन्तहरूले युद्धविराम सम्झौता भंग नगर्न माग गरेका छन् । नेतन्याहुको यो चेतावनीपछि गाजा युद्ध पुनः सुरु हुन सक्ने र हमासको कब्जामा रहेका बाँकी बन्धक रिहाइको प्रक्रिया पनि रोकिने आशंका उत्पन्न भएको छ ।