काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिनबाट समापन गरिँदै छ ।
पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवतरुपमा समापन गर्न लागिएको हो ।
स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ । आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिकालमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्व समापन हुन्छ ।
व्रत समाप्तीका दिन आज श्रीस्वस्थानीको पूजा गरी एक सय आठ रोटी, पान, कुड्का सुपारी लगायत सामग्री चढाउने तथा रातभर जाग्राम बस्ने प्रचलन छ । व्रत अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको छ ।
पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । श्रद्धापूर्वक स्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दु:ख तथा रोग नाश हुने र चिताएको पुग्ने धार्मिक विश्वास छ । काठमाडौंको साँखुस्थित शाली नदीमा एक महिनादेखि जारी स्वस्थानी मेला पनि आजै गरिँदैछ ।