युरोपेली च्याम्पियन्स लिगको प्लेअफमा म्यानचेस्टर सिटीमाथि रियल मड्रिडको जित

माघ ३०, २०८१ |खेल ब्युरो
युरोपेली च्याम्पियन्स लिगको प्लेअफमा म्यानचेस्टर सिटीमाथि रियल मड्रिडको जित

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगअन्तर्गतको प्ले अफमा खेलमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई तीन-दुई गोलले हराएको छ । म्यानचेस्टरको इतिहाद रंगशालामा गएराति सम्पन्न खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा सिटी पराजित भएको हो ।

घरेलु समर्थकमाझ सिटीका फरवार्ड अर्लिङ हाल्यान्डले १९औँ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा हाल्यान्डको अर्को सानदार प्रहार क्रसबारमा लागेर फर्किएको थियो । भिन्न रणनीतिका साथ मैदान फर्किएको रियलले दोस्रो हाफमा सानदार पुनरागमन गर्‍यो ।

६०औँ मिनेटमा फरवार्ड किलियन एम्बाप्पले रियललाई पुनरागमन गराए । उनको भली गोलसँगै खेल बराबरीको अवस्थामा पुगेको थियो । ७६औँ मिनेटमा भिनियसयस जुनियरको प्रहार गोलकिपरले बचाएका थिए । ८०औँ मिनेटमा घरेलु टिमले पेनाल्टी पायो । फिल फोडेनलाई रियलका डिफेन्डरले बक्स भित्र लडाएपछि सिटीले पेनाल्टी पाएको हो ।

उक्त पेनाल्टीमा हाल्यान्डले सानदार गोल गरेपछि सिटीले दुई-एकको अग्रता बनाएको थियो । ८६औँ मिनेटमा ब्राहिम डियाजले गोल गरेपछि उक्त अग्रता तोडियो । भिनिसयसको प्रहार गोलकिपरले रोकेपछि रिबाउन्डमा डियाजले गोल गरे । प्रतिस्पर्धात्मक बनेको स्टपेज समयमा रियलका फरवार्ड जुड बेलिङ्घमले गोल गर्न सफल भए । उनले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् । यससँगै खेलमा रियलले पुनरागमन जित निकालेको हो । तर यो जित मात्रै रियललाई प्ले अफमा पुग्नको लागि पर्याप्त हुने छैन । दुई टिमबीच अर्को हप्ता रियलको बर्नाबेउ रंगशालामा दोस्रो लेगको खेल हुनेछ। सो खेलपछिको समग्र विजेता च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्नेछ ।

च्याम्पियन्स लिगमा गएराति नै भएको अर्को खेलमा युभेन्टसले पिएसभीलाई २-१ ले हराएको छ। युभेन्टसको जितमा वेस्टन मकोइन र सामुएल एम्बान्गुले गोल गरेका थिए ।



Enter Kantipur TV HD
Advertisement