कर्णालीमा विषादी परीक्षण प्रयोगशाला अलपत्र

श्रावण २३, २०८१ |सरिता चलाउने
कर्णालीमा विषादी परीक्षण प्रयोगशाला अलपत्र

सल्यान । कर्णाली सरकारले सल्यानको कपुरकोट र सुर्खेतको छिन्चुस्थित हर्रेमा प्रविधिसहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने योजनासहित भवन निर्माण गरेको ४ वर्ष भयो । विषादी प्रयोग भएका वस्तु भित्रन नदिने र अर्गानिक प्रदेश बनाउने उद्देश्यले प्रदेश सरकारले प्रयोगशाला भवन निर्माण गरेर उपकरणहरु पनि खरिद गर्यो । तर, ती उपकरणले तत्काल रिर्पोट दिन नसक्ने भएपछि मन्त्रालयमै थन्किएका छन् भने भवन अलपत्र परेका छन् । 

कर्णाली सरकारले प्रदेशलाई अर्गानिक बनाउने घोषणा गर्यो । प्रदेश भित्रिने र बाहिरिने तरकारी, फलफूल, मासुलगायतका खाद्य वस्तुमा विषादी परीक्षण गर्न २०७७ सालमा सल्यानको कपुरकोटमा विषादी प्रयोगशाला भवन पनि बन्यो । तर, अहिलेसम्म सञ्चालनमा आएको छैन । कपुरकोटका लागि आएका उपकरण पनि मन्त्रालयको कृषि प्रयोगशाला सुर्खेतमै थन्किएका छन् । प्रयोगशाला सञ्चालन नभएकै कारण विषादी परीक्षण गर्न नपाउँदा कपुरकोटमा उत्पादित तरकारीलाई ब्रान्डिङ्ग गर्न सकिएको छैन भने किसानलाई पनि समस्या छ ।

किसानलाई विषादी प्रयोगको उचित ज्ञान छैन । प्रयोगशाला सञ्चालन हुनसके विषादी प्रयोगसम्बन्धी सचेतना पनि बढ्ने अपेक्षा थियो । अहिले त किसान पसलबाट किनेर ल्याएको विषादीको प्रयोग पसले वा छिमेकीको सल्लाह अनि आफ्नै पूर्वअनुभावको आधारमा गरिरहेका छन् ।

यस्तै छिन्चुको हर्रेमा पनि विषादी प्रयोगशाला भवन बनिसकेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा एकैसाथ कपुरकोट र हर्रेमा तथ्यांक व्यवस्थापन र प्रविधिसहित विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारी गर्यो । कपुरकोटमा त झन् २ जना कर्मचारी पनि पठाइसकेको छ । तर, ती कर्मचारी कामविहीन बनेका छन् । मन्त्रालयले प्रयोगशालाका लागि करिव ४ वर्षअघि ३५ लाख रुपैयाामा उपकरण पनि खरिद गरिसकेको छ । तर, उक्त उपकरणले तत्काल रिर्पोट दिन नसक्ने भन्दै एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा थन्क्याइएको छ । थप उपकरण खरिदका लागि फेरि मन्त्रालयले यस वर्ष बजेट विनियोजन गरेको छ ।

बेमौसमी तरकारी उत्पादनमा प्रख्यात सल्यानको कपुरकोटबाट वाषिर्क २८ करोडभन्दा बढिको तरकारी बिक्री हुन्छ भने बाहिरबाट पनि तरकारी, फलफूल र खाद्यन्न प्रदेशमा भित्रिन्छ । विषादी प्रयोगशाला सञ्चालनमा नआउादा तरकारी तथा फलफूलमा विषादी मात्रा पुष्टि गर्न समस्या छ । जनशक्ति अभाव र रिर्पोट दिन नसक्ने मेसिन महंगोमा खरिद गरेर थन्काउदा प्रदेश सरकारले आलोचित बनेको छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।