वीर अस्पतालमा किन चुलियो राजनीतिक हस्तक्षेप ?

मंसिर १०, २०८० |कृपाल गौतम
वीर अस्पतालमा किन चुलियो राजनीतिक हस्तक्षेप ?

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा देशभरबाट दैनिक ३ हजारसम्म बिरामी आउने गरेका छन् । अस्पतालबाट गुणस्तरीय र विश्वसनीय उपचार पाउने अपेक्षा उनीहरूको हुन्छ । तर, राजनीतिक खिचातानी र सरकारको प्राथमिकतामा नपर्दा अस्पतालको सेवा सुधारिनुको साटो झन् खुम्चँदै गएको छ । अवस्था यस्तो सम्म छ कि अस्पतालमा बिरामीले बेडसमेत पाउन मुस्किल छ भने जनशक्ति अभावको बहानामा सेवासमेत अवरुद्ध हुन थालेका छन् । 

सहरभरि अस्पताल तथा स्वास्थ्य संस्था खुले पनि देशकै जेठो वीर अस्पतालमा उपचारका लागि पुग्ने सर्वसाधारणको सङ्ख्या घटेको छैन, बरु दिनहुँ बढिरहेको छ । यस्तो अवस्थामा अस्पतालको सेवा सुविधा पनि बढ्नुपर्ने हो । तर, अस्पतालको सेवा झन् खस्कँदो छ । 

अस्पतालमा ३ महिना अघिसम्म ६० बेडको आइसियु सञ्चालन हुँदै आएकोमा अहिले २३ वटामा मात्र सीमित छ । ९ सय वटा जनरल बेड रहे पनि अहिले ६ सय ५० वटामात्र सञ्चालनमा छ । जसका कारण भर्ना हुनुपर्ने बिरामीले बेडै नपाउने र पाउन पनि लामो समय कुर्नुपर्ने अवस्था छ ।

यस्तै, कोभिडका बेला करारमा राखिएका २ सय ७६ कर्मचारी हटाएपछि अस्पतालको इर्मेन्सीलगायतको सेवासमेत प्रभावित भएको छ । इमर्जेन्सीमा रहेको १२ शय्याको अब्जर्भेसन सेवा बन्द गर्नुपर्ने अवस्थामा छ । १५ वटा अप्रेसन थिएटरले दैनिक सेवा दिने गरेकोमा अहिले पूर्ण रूपमा सञ्चालनमा छैन । त्यसमाथि बजेट अभावका कारण पनि समस्या आएको अस्पताल बताउँछ ।

वीर अस्पतालमा देखिएको समस्याका बारेमा आफूहरू जानकार रहेको स्वास्थ्य मन्त्रालय बताउँछ । अहिले अस्पतालमा २ सय ९६ चिकित्सक र ५ सय २१ नर्सले सेवा दिँदै आइरहेका छन् । कोभिडका बेला राखिएका कर्मचारीको उद्देश्य पूरा भइसकेकाले तिनलाई बिदा दिई आवश्यकताअनुसार नयाँ कर्मचारी राख्न लागिएको मन्त्रालयको भनाइ छ ।

कहिले एक्सरे तथा एमआरआईको फिल्म सकिने, कहिले जनशक्ति अभाव भन्दै उपचार नै रोकिने, कहिले बेड नै नपाइनेजस्ता अनगिन्ती समस्या वीर अस्पतालमा छन् । जसको मारमा उपचारका लागि देशका कुना-कुनाबाट धाउने सर्वसाधारण परिरहेका हुन्छन् । यसको दीर्घकालीन समाधानमा न अस्पताल प्रशासनले ध्यान दिएको छ, न तालुकदार स्वास्थ्य मन्त्रालयले ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।