काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरूको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाउनुभएको हो ।
उहाँले आजपनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भएपनि वैदेशिक रोजगारमा रहेका नागरिकहरूको श्रमको सम्मान गर्न नसकेको आरोप लगाउनु भयो ।
उहाँले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको तलबभत्ता विदेशबाट पठाइएको रेमिटेन्सले धानेको छ हामीले नुनको सोझो पर्दैन ? भन्दै प्रश्न गर्नुभयो । वैदेशिक रोजगारीको नाममा आजपनि लाखौं मानिसहरू दलालबाट ठगिएको उहाँको भनाइ छ । वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक कुटनीतिक पहल गर्न नसकेको उहाँको आरोप छ ।
वेदेशिक रोजगारीको लागि जहाँ गएपनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्न उहाँले सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो ।