प्रदेश र प्रतिनिधिसभामा महिलाको उपस्थिति किन कमजोर ? (भिडियोसहित)

मंसिर १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश र प्रतिनिधिसभामा महिलाको उपस्थिति किन कमजोर ? (भिडियोसहित)

दाङ । यसपटक केन्द्रदेखि प्रदेशका संसदमा महिला उपस्थिति निकै कम देखिने भएको छ । प्रत्यक्षतर्फ १६५ सिटमा ८ जनामात्रै महिला विजयी भएका छन् । अझ लुम्बिनी प्रदेशमा त प्रत्यक्षबाट महिला उपस्थिति एक जनामात्रै छ ।

दाङ २ बाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले एमाले महासचिव शकंर पोखरेलाई पराजित गरिन् । एक सय ९६ मत अन्तरले पोखरेललाई पराजित गरेकी शर्मा लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा पुग्ने एकमात्रै महिला हुन् । अन्य ११ जिल्लाबाट कुनै पनि महिला विजयी भएनन् । 

देशभरका १६५ सिटमध्ये आठ जनामात्रै महिला उम्मेदवार विजयी हुँदा संसदमा महिला प्रतिनिधित्व पहिलेभन्दा कमजोर बनेको छ । प्रमुख राजनीतिक दलले प्रत्यक्षतर्फ महिला उम्मेदवार उठाउन हच्किँदा र जित्ने सम्भावना भएका निर्वाचन क्षेत्रमा नउठाउँदा महिला उपस्थिती कमजोर बनेको हो ।

नेपाली कांग्रेस प्यूठानबाट समानुपातिक उम्मेदवार रहेकी निमा गिरीले गुनासो गर्दै भनिन्, ‘सकेसम्म महिलालाई उम्मेदवार बनाउनै चाहँदैनन् । बनाए भने पनि हराउन लाग्छन् । यदि चुनाव जितहाले ती महिलाविरुद्ध अभियान चलाउन थाल्छन् ।’

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल प्यूठानमा एमालेका सूर्य थापासँग पराजित भइन् । पूर्वमन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी रामकुमारी झाक्री पनि गुल्मी २ मा एमालेका गोकर्ण बिष्टसँग पराजित भइन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले कांग्रेसकी पुष्पा भुषाललाई पराजित गरे । यसबाहेक दाङ १ मा एमालेकी शान्ता चौधरी र क्षेत्र नम्बर ३ मा एमालेकी कोमल वली पनि संसद पुग्नबाट बञ्चित रहे । संविधानले संघीय संसदमा प्रतिनिधित्व गर्ने हरेक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई महिला हुनुपर्ने व्यवस्था गरेको छ । प्रत्यक्षमा प्रतिनिधित्व घटेपछि ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन दलहरुले अब समानुपातिकमा भर पर्नुपर्ने छ ।

३३ प्रतिशत न्यूनतम भएको बताउँदै ५१ प्रतिशत महिलाको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिन्छन् प्यूठानका अधिवक्ता मेघराज भट्ट ।

निर्वाचन आयोगले चुनाव अघि नै ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन दलहरुलाई निर्देशन दिएको थियो । तर आयोगको निर्देशन अटेरी गर्दै थोरै संख्यामा मात्रै महिलालाई उम्मेदवार बनाएका थिए । दलहरुले जित्ने सम्भावना बलियो भएका क्षेत्रमा पुरुषलाई नै उम्मेदवार बनाउने र नजित्ने क्षेत्रमा महिला अगाडि सार्ने गरेकाले संसदमा महिलाको उपस्थिति कमजोर हुने गरेको छ ।

कांग्रेस महासमिति सदस्य बिमला योगी अब्बल महिलाहरुको प्रतिनिधित्व कम हुँदा राष्ट्रिय राजनीतिमा क्षति पुग्ने बताउँछिन् ।

नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल भन्छिन्, ‘चुनावमा सबै उम्मेदवारलाई अफ्ठ्यारो हुन्छ तर महिला उम्मेदवारलाई अलि बढी नै अफ्ठ्यारो हुने गरेको मैले महसुस गरेँ ।’

३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्यको व्यवस्थालाई दलहरुले बेवास्ता गर्दा संसदमा महिला सहभागिता जहिले पनि कमजोर हुने गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.