तारैतारका गुजुल्टाले कुरूप बन्दै पोखरा, दुर्घटनाको जोखिम

आश्विन २८, २०८१ |भुपाल गुरुङ
तारैतारका गुजुल्टाले कुरूप बन्दै पोखरा, दुर्घटनाको जोखिम

पोखरा । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई मानवीय क्रियाकलापले भने कुरूप बनाउँदै लगेको छ । सहरको विद्युतका पोलमा थाम्नै नसक्ने तारको गुजुल्टो र दूरसञ्चार उपकरणहरूले पर्यटनको राजधानी पोखरालाई गिज्याइरहेको छ । यसले पोखराको सौन्दर्यलाई बिगारेको मात्रै छैन मानिसको ज्यानै जाने गरी दुर्घटनासमेत निम्त्याइरहेको छ ।

पोखरा ६ गौरीघाट मार्गका ६३ वर्षीय खेमबहादुर पौडेल गत असोज १ गते आफ्नै घरको आँगनमा लत्रिएको तार हटाउन खोज्दा सख्त घाइते हुनुभयो । हप्तौँदेखि इन्टरनेटको तार चुँडिएर आँगनमा लत्रिएपछि तार हटाउन खोज्दा 'हाइ भोल्टेज करेन्ट’ लागेर गम्भीर घाइते उहाँको उपचारका क्रममा नवौँ दिनमा निधन भयो । घाँटी, पेट, खुट्टा, हातलगायतका शरीरका पुरै भाग जलेर मृत्युवरण गर्नुपरेका पौडेलको परिवारलाई अब कसले न्याय दिने ? पीडित परिवारले इन्टरनेट सेवा प्रदायक कम्पनीको पहिचान गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी पनि दिएको छ तर अहिलेसम्म कसैलाई कारबाही भएको छैन ।

सात वर्षअघि महेनपुलबाट रानी पौवातर्फ गइरहेको मोटरसाइकलमा सवार व्यक्तिमाथि अचानक बिजुलीको तार चुँडिएर लाग्यो । ती व्यक्तिको पछि उपचारका क्रममा मृत्यु भयो । पोखरा अमरसिंहचोकमा बसको छतमा राखेर ल्याइँदै गरेको एउटा हाते ट्याक्टर बिजुली तारमा अड्कियो । अव्यवस्थित तारका कारण करेन्ट लाग्ने र आगलागी हुँदै आएको छ । विद्युत्, केबल, टेलिफोन, इन्टरनेटलगायतका अव्यवस्थित तारका कारण पर्यटकीय नगरी पोखरा दिनहुँ असुरक्षित बन्दै गएको छ ।

विद्युत् प्राधिकरणले अहिले केही स्थानमा तार भूमिगत गर्न काम अघि बढाए पनि सुस्त गति भइरहेको छ । पोखरा महानगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर जिसीले एक महिनाभित्र तार हटाउने प्रतिविद्धतासहित २०७५ सालमै अव्यवस्थित तार हटाउने अभियान थाल्नुभएको थियो । तर बिना अध्ययन र पूर्वतयारी बिनै सुरु भएको अभियान यत्तिकै अलपत्र पर्‍यो । पोखरामा अव्यवस्थित तार भूमिगत गर्ने विषय यसअघिका नीति तथा कार्यक्रममा बर्सेनि समेटिँदै आएकोमा चालु आर्थिक वर्षमा भने प्राथमिकता मै परेन ।

महानगरले बेलाबेलामा विद्युत् प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायीलगायतका संस्थालाई बोलाएरै तार व्यवस्थापन गर्न आग्रह गरे पनि असहयोग गर्दै आएका छन् । सेवा प्रदायकको अटेरी र महानगरको लाचारीमा निरीह नागरिकले कहिलेसम्म ज्यान गुमाइरहने ? 


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।