[अपडेट] ‘इन्स्युरेन्स’ प्रक्रिया टुंगो नलागेकाले धवलागिरिबाट पर्यटकको शव ल्याउन ढिलाइ

आश्विन २३, २०८१ |घनश्याम खड्का
[अपडेट] ‘इन्स्युरेन्स’ प्रक्रिया टुंगो नलागेकाले धवलागिरिबाट पर्यटकको शव ल्याउन ढिलाइ

म्याग्दी । धवलागिरि प्रथम हिमालको ७ हजार ६ सय मिटर उचाइमा मृत फेला परेका ५ जना रुसी आरोहीको शव आजै ल्याउन नसकिने भएको छ ।

हिमालको धेरै माथिल्लो क्षेत्रबाट उद्धारका लागि हिमाली रेस्क्यु टिम परिचालन गर्न ‘इन्स्युरेन्स कभर’ प्रक्रिया टुंगो नलागेकाले आजै शव ल्याउन नमिलेको ट्रेकिङ एजेन्सी आईएम ट्रेकिङ एन्ड एक्स्पिडिसनलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

‘धवलागिरि हिमालको ७ हजारमाथि मृत भेटिएका रसियन आरोहीहरूको शवको आज उद्धार सम्भव भएन । इन्स्युरेन्स प्रक्रिया टुंगो नलाग्दासम्म रेस्क्यु टिम पठाउन नसकिने ट्रेकिङ एजेन्सीले भनेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले भन्नुभयो, ‘कहिलेसम्म शव ल्याउने प्रक्रिया मिल्छ हामीले यसै भन्न सकेनौं ।’

धवलागिरि प्रथम आरोहण गर्ने क्रममा रसियन आरोही एलेक्सज्यान्डर डस्सिको, ओलेक क्लोब्भ, सिस्टिकोभ भाल्दमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको शव मंगलबार ७ हजार ६ सय मिटर उचाइमा खोजीमा गएको हेलिकोप्टरले देखेको थियो ।

असोज २० गते राति ११ बजे धवलागिरि प्रथम हिमालको ८ हजार मिटरमाथिबाट आरोहण त्यागेर फर्कन लागेको सूचना दिएका आरोहीहरू त्यसपछि सम्पर्कविहीन बनेका थिए । 

पर्यटन विभागका अनुसार धवलागिरि आरोहणका लागि १४ जना रसियन आरोही सम्मिलित टोलीमध्ये ८ र ६ जनाको टोली बनाई आरोहण सुरु गरेका थिए । आरोहण समूहकै टिमका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्की धवलागिरिको सफल आरोहण गरी बेस क्याम्पमा फर्किए भने अरु ६ जना धवलागिरि हिमालको टुप्पो नजिक पुगेपछि खराब मौसम र बिरामी भई आरोहण त्यागेर फर्केका थिए ।


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement