काठमाडौं/ माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघले भदौ १६ गते काठमाडौंको होटल सोल्टीमा ‘मजदुरसँग सांसद’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा माओवादी निकट प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरूको उपस्थिति रहने छ ।
अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अनुसार पर्यटन क्षेत्रका श्रमिकको हकहित र अधिकार सुनिश्चितताका लागि निरन्तर संघर्षरत संगठनले श्रम क्षेत्रमा व्याप्त बेथिति, न्यूनतम सेवा सुविधा नदिने प्रवृत्ति र गैरकानुनी श्रम अभ्यासविरुद्द निरन्तर अभियान चलाइरहेको छ । सेवाशुल्क खारेजीपछि पुनः प्राप्तिका लागि गरिएको दबाब, संघर्ष तथा कार्यक्रमहरू यसअघि पनि सञ्चालन गरिएको संघले जनाएको छ।
संघले विशेषगरी १० प्रतिशत सेवाशुल्क कानुनी रूपमा पुनः व्यवस्था गर्न नेपाल सरकारलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याएको छ । संघको भनाइमा, आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा १० प्रतिशत सेवाशुल्कलाई कानुनी रूपमा लागू गरिने घोषणा भए पनि तीन महिना बित्दासम्म सरकारले कुनै पहल नगरेकाले श्रमिक दबाब अपरिहार्य भएको हो ।
हस्ताक्षर अभियान भदौ १६ गतेदेखि सुरु हुने र सातै प्रदेशमा अभियानको रुपमा जाने अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष कुमार पन्तले बताउनुभयो ।