पहिरोको जोखिममा परेको बस्तीको सांसद पाण्डेद्वारा अनुगमन

भाद्र १५, २०८२ |पोषनाथ अधिकारी
पहिरोको जोखिममा परेको बस्तीको सांसद पाण्डेद्वारा अनुगमन

धादिङ/ धादिङको सदरमुकाम धादिङवेसी नजिकै शान्तिटोल डुडेदोन क्षेत्रमा गएको पहिरोको कारण जोखिममा परेको बस्तीको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष एवं धादिङ–१ बाट निर्वाचित सांसद राजेन्द्रप्रसाद पाण्डेले अनुगमन गर्नुभएको छ ।

सदरमुकाम धादिङवेसीको माथिल्लो बजार छेवैको शान्तिटोल हुँदै डुडेदोभानजाने सडक खण्डमा जताततै गएको पहिरोले एक सय भन्दा बढि घर प्रभावित भएको र नागरिकहरु त्रासमा रात विताईरहेको समाचार केहि दिन अघि कान्तिपुर टेलिभिजनमा प्रसारण भएको थियो ।

आइतवार बिहान सो क्षेत्रको अनुगमन निरीक्षण गर्न पाण्डे सो क्षेत्रमा पुग्नु भएको हो । अनुगमनका लागी पुग्नुभएका उहाँले त्यस क्षेत्रका नागरिकलाई यसको अध्ययन गर्ने र समाधान खोज्ने कुरामा समन्वय गर्ने बताउनुभयो । उहाँले पहिरोको जोखिम देखिएको सो क्षेत्रमा तत्काल घरहरु निर्माण गरेर थप जोखिम नमोल्न स्थानीयलाई सुझाब समेत दिनुभएको छ ।

अनुगमन पछि जिल्ला विपद् न्यूनिकरण तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहने प्रमुख जिल्ला अधिकारीसँग पनि यो विषयमा परामर्श गर्नु भएको छ ।

लगातार पहिरो सँगै जमिन भासिँदै जाँदा सो क्षेत्रको जीवन अस्तव्यस्त भएको र आउजाउ गर्ने सडक बनाउन सक्ने अवस्था समेत नरहेको समाचार संप्रेशण भएपछि यस अघि नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना सहितको टोलीले सो क्षेत्रको अनुगमन गरेका थिए । नगरपालिकासँग यसको अध्ययन गर्ने जनशक्ति नभएको भन्दै खानी तथा भू–गर्भ विभागलाई सो क्षेत्रको वास्तविक अवस्था पत्ता लगाउन अध्ययन गरी सहयोग गर्न आग्रह गर्ने भन्दै पत्राचार गरेको थियो ।

जिल्ला विपद् न्यूनिकरण तथा व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदिले जलाधार र पूर्वाधार कार्यालयका इन्जिनियर सहितको टोलीलाई तत्काल रोकथाम र जोखिम कम गर्न के गर्न सकिन्छ भनि अध्ययन गर्न ३ सदस्यीय टोलीलाई जिम्मा लगाएको बताउनु भएको छ ।

ठाउँ ठाउँमा पहिरो गएको र पहिरोमाथिको वस्ती भएको स्थानमा पनि जमिन भासिन थालेपछि अहिले सो क्षेत्रका नागरिक त्रासमा छन् ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।