साहसिक पर्यटक भित्र्याउन स्याङ्जामा रक क्लाइम्बिङ स्कुल स्थापना गरिँदै

मंसिर २४, २०८० |रोशन लामिछाने
साहसिक पर्यटक भित्र्याउन स्याङ्जामा रक क्लाइम्बिङ स्कुल स्थापना गरिँदै

स्याङ्जा । साहसिक खेलमध्येको एक हो-रक क्लाइम्बिङ । विदेशमा धेरै खेलिने भए पनि नेपालमा आक्कल झुक्कल मात्रै यो खेल खेलाइन्छ। डोरीको सहायताले भिर तथा चट्टानमा खेलिने रक क्लाइम्बिङलाई प्रोत्साहन गर्न र अन्तर्राष्ट्रियस्तरको स्कुल स्थापनाका लागि स्याङ्जामा पहल सुरु भएको छ । त्यसका लागि पुतलीबजार नगरपालिका-१२ पेल्काचौरमा रहेको ओल पहरो छनोट गरिएको छ ।

नागार्जुन वन, नगरकोट, नाम्चेबजा, मनाङजस्ता केही सीमित ठाउँमा मात्रै गर्न सकिने रक क्लाइम्बिङ स्याङ्जाको पेल्काचौरमा गर्नसकिने अनुसन्धानबाट खुलेको छ । हालसम्म खेलिने ठाउँभन्दा उत्कृष्ट चट्टान भएको पेल्काचौरलाई रक क्लाइम्बिङ स्थलमा विकास गर्नसकेकमा तालिमका लागि लाखौँ तिरेर विदेश जानुपर्ने बाध्यता हट्ने पर्यटन व्यवसायी कृष्णजंग केसी बताउँछन् ।

यस क्षेत्रमा रक क्लाइम्बिङको लागि पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ र पुतलीबजार नगरपालिकाले एक वर्ष पहिले संयुक्त अनुसन्धान गरेका थिए । नेपालको पर्यटन सीमित क्षेत्रमा मात्रै केन्द्रित भएको हालको अवस्थामा सहासिक पर्यटक भित्र्याउन धेरै सम्भावना बोकेको रक क्लाईम्बिङ प्रवर्द्धन गर्न काम थालिएको पर्यटन मन्त्रालयले जनाएको रहेको छ । नगरपालिकाको ६ लाख र मन्त्रालयको ७ लाख गरी १३ लाखबाट काम सुरु भएकोमा कार्य सम्पन्न हुँदासम्म ३ करोडसम्म खर्च हुने अनुमान रहेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

रक क्लाईमिङ हुने ठाउँसम्म जाने बाटो पालिकाको समन्वयमा निर्माण भइसकेको छ । पोखराबाट पनि नजिक रहेका कारण यस क्षेत्रमा प्याराग्लाइडिङ, क्यानोनिङ र साइक्लिङलगायतका अन्य खेलका गतिविधि पनि सञ्चालन गर्नसक्ने प्रशस्त सम्भावना छ ।

तीनै तहका सरकारले समन्वय गरेर यस क्षेत्रमा साहासिक खेलकुद गतिविधि सञ्चालन गरी पर्यटकहरु भित्राउनसके यसले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने देखिन्छ । 


Image

रोशन लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनका स्याङ्जा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement