
धनुषा । धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थित परवाहा गाँउका युवाहरूले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको प्राविधिक सहयोगमा थोरै भए पनि रगतको अभाव टार्न मद्दत पुग्ने उदेश्यका साथ सदरमुकाम जनकपुरधामदेखि आठ किलोमिटर पूर्व र हुलाकी राजमार्गमा पर्ने धनुषाको औरही गाउँपालिका वडा नम्बर २ परवाहा गाउँका २८ जना युवाहरूले शनिबार रक्तदान गरेका हुन् ।
रक्तदान गर्नु भनेको कसैलाई जीवनको उपहार दिनु हो र यस परोपकार कार्यप्रति समाजमा सकारात्मक संदेश प्रवाह गर्ने उदेश्यका साथ रक्तदान गरिएको परवाहाका युवा अगुवा अजयकुमार मण्डलले जानकारी दिनुभयो । रगतको चरम अभाव टार्न र बिरामीको ज्यान बचाउ यस्तो अभियानले मद्दत पुग्ने नेपाल रेडक्रस सोसाइटी धनुषाका महामन्त्री रामनरेश सिंहको भनाइ छ ।
रक्तदान गर्दा शरिरमा रगतको मात्रा घटी कमजोर हुने भ्रमबाट मुक्त हुनुपर्छ, किनकि रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादनमा मद्दत गर्ने भएको हुनाले यस्तो अभियानमा लाग्न महामन्त्री सिंहले अनुरोध गर्नुभयो । बिरामी परेको बेला रगत लिन आउने र रक्तदान गर्न हिचकिचाउने प्रवृत्ति रहेको छ ।