स्याङ्जाको भिरकोटमा कतारकी राजकुमारीको प्याराग्लाइडिङ तालिम

चैत्र १७, २०७९ |रोशन लामिछाने
स्याङ्जाको भिरकोटमा कतारकी राजकुमारीको प्याराग्लाइडिङ तालिम

स्याङ्जा । कतारकी राजकुमारी आस्मा अल्थानीले भिरकोट नगरपालिका ५, महापुरबाट प्याराग्लाइडिङको तालिम लिएकी छन् । अन्नपूर्ण प्रथम हिमाल आरोहण मौसमले प्रभावित भएसँगै जिल्लाको सुरक्षा निकायले समेत थाहा नपाउने गरी गोप्य रूपमा अल्थानीले भिरकोट नगरपालिका ५, महापुरमै बसेर पाँच दिनको प्याराग्लाइडिङको तालिम लिएकी हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलेसँगै पोखराको प्याराग्लाइडिङ उडान रोकिरहँदा उच्चस्तरकी पाहुना अल्थानीले भिरकोटमा प्याराग्लाइडिङ तालिम लिएर उडान भरेको तस्बिर ‘द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुल’ भिरकोटले सार्वजनिक गरेको छ । विश्वकप प्याराग्लाइडिङ सफल भएको भिरकोट महापुरमा उच्च तहका पाहुना उडान र सिक्न आउनुले पोखरा पछाडिको प्याराग्लाइडिङ केन्द्र स्याङ्जा भएको द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुलका सञ्चालक सानुबाबु सुनुवारको दाबी छ ।

राजकुमारी अल्थानीलाई ‘द बाबु एड्भेन्चर’ भिरकोटका सञ्चालक सुनुवारले प्याराग्लाइडिङमा उडान गराउनुका साथै उड्न र अवतरण गराउने सिकाएका थिए । सञ्चालक सानुबाबुले पाँच दिन २० घण्टा उडान तथा अवतरणको तालिम दिएसँगै राजकुमारीले वालिङ नगरपालिका १, डौवाफाँटमा अवतरण गरेको सुनुवारले बताए । राजकुमारी अल्थानीकै आग्रहमा साहसिक कुरा भएकाले कसैलाई नभन्न आग्रह गरेसँगै गोप्य राखेर तालिम दिएको सञ्चालक सुनुवारले जानकारी दिए ।

राजकुमारी अल्थानीले डाँडाबाट ‘टेकअफ’ र मैदानमा सुरक्षित तवरले अवतरण बारेमा सिकेर पाँच मिनेटबाट २५ मिनेटसम्मको चारवटा उडान आफैं गरेको र अन्तिम उडान डौवाफाँटसम्म गरेकी थिइन् । आधारभूत पाइलट प्रशिक्षण एक साताको हुने भए पनि अल्थानीले प्याराग्लाइडिङ उडानको २० घण्टामै आधारभूत पाइलट प्रशिक्षण पूरा गरेको सुनुवारले जानकारी दिए ।

धेरै पहिलादेखि भिरकोटमा प्याराग्लाइडिङ उडान गर्न र सिक्न आउने अल्थानीको चाहना आफ्नो स्कुलले पूरा गरेको सुनुवारले जनाए । उच्च तहका पाहुना भिरकोटमा आउने अल्थानी पहिलो भएको बताउँदै सुनुवारले राजकुमारीका लागि उपकरण स्कुलले उपलब्ध गराएको जानकारी दिए । 


Image

रोशन लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनका स्याङ्जा संवाददाता हुन् ।