
कञ्चनपुर । पुस सुरु भएसँगै कञ्चनपुर जिल्लामा बाक्लो हुस्सु लागेको छ । मंसिर मसान्तसम्म बिहानैदेखि न्यानो घाम लाग्ने गरेको कञ्चनपुरमा पुस महिनाको पहिलो दिनदेखि नै हुस्सुले छपक्कै ढाकेको छ । बिहान सबेरैदेखि मध्यान्हसम्म पनि हुस्सु नखुल्दा चिसो बढेको छ ।
हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर निस्किएका छैनन् ।
विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित हुने देखिन्छ । हुस्सुका कारण सवारी आवागमनमा समेत समस्या देखिएको छ भने बिहानको समयमा सडक दुर्घटनाको जोखिम पनि बढेको छ । मौसमविद्हरूका अनुसार केही दिनसम्म कञ्चनपुरसहित तराईका जिल्लामा हुस्सु र चिसो यथावत् रहने सम्भावना रहेको छ ।
यसले कृषि, यातायात र स्वास्थ्य क्षेत्रमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ ।