तातोपानी नाकामा चिनियाँ किराना सामान बरामद

पुस १, २०८२ |कमला पाख्रिन
तातोपानी नाकामा चिनियाँ किराना सामान बरामद

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सशस्त्र प्रहरी बल नेपाल लामोसाँघु सुरक्षा बेशले तातोपानीनाका हुँदै अवैध रूपमा भित्र्याइएका चिनियाँ किराना सामान बरामद गरेको छ ।

सोमबार राति करिब ११ . ४५ बजे बाह्रबिसे बजार क्षेत्रमा तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर मिनी टिपर गाडी चेकजाँचका क्रममा बिल–बिजक तथा भन्सार प्रज्ञापन पत्र बिनै ल्याइएका सामान फेला परेको हो ।

अन्दाजी मूल्य सात लाख २२ हजार १० रुपैयाँ बराबरको चिनियाँ किराना सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । घटनामा टिपर चालक बाह्रबिसे नगरपालिका–६ मान्द्राका शिवलाल तामाङलाई सवारीसाधनसहित नियन्त्रणमा लिइएको छ । बरामद गरिएका सम्पूर्ण सामान तातोपानी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ हेडक्वार्टरका गणपति अच्युत कुमार मजगैयाले जानकारी दिए ।

गणपति मजगैयाका अनुसार पछिल्लो १० महिनामा मात्र विभिन्न समयमा एक करोड तीन लाख रुपैयाँ बराबरका अवैध सामान बरामद भइसकेका छन् ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।