पाँचथर । पाँचथरको फिदिम नगरपालिका ८ मा छ साधुटार । छोटो समयमा घुमघामका लागि उत्कृष्ट गन्तव्य साधुटारको विशेषता झनै गज्जबको छ ।
पहाडको टाकुरामा जमेको पोखरी । वरिपरि फाँटिलो चौर । अनि नीलो आकाश र पृष्ठभूमिमा रहेका कञ्चनजंघा र कुम्भकर्ण हिमशृंखलाको मनोरम दृश्य ।
बिहानीपख पोखरीभित्र टिलिक्क टल्किने नीलो आकाशको छाया अनि हिमालको प्रतिछाया । यी र यस्तै आकर्षणले यहाँ पुग्ने जो कोही पुलकित हुन्छन् ।
यहाँको पुगेका जो कोही मनोरम दृश्य कैद गर्दै फोटो खिच्ने, टिकटक बनाउने र म्युजिक भिडियो बनाउन लालयित देखिन्छन् । साधुटार पुग्न मेची राजमार्गको इलाम-फिदिम खण्डमा पर्ने पौवा भञ्ज्याङदेखि इथुङ हुँदै करिब तीन किलोमिटर भित्र कच्ची सडक भएर पुग्न सकिन्छ ।
साधुटार करिब चार वर्षदेखि चर्चामा आएको हो । आजकल यहाँ शनिबार र अन्य सार्वजनिक बिदाका दिन पाँचथरका विभिन्न स्थानीय तहसँगै छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापासम्मबाट घुम्न र वनभोज खान आन्तरिक पर्यटक आइपुग्छन् । साधुटार आसपासमा पौवाभञ्याङ, शिलौती, सुकेपोखरी, लोहकिल र लब्रेकुटीजस्ता रमणीय धार्मिक र पर्यटकीय स्थल पनि छन् । हेरौं थप तस्बिर :