इङलिस प्रिमियर लिग : म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित

कार्तिक २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इङलिस प्रिमियर लिग : म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित

काठमाडौं । पेप ग्वार्डिवालाले म्यानचेस्टर सिटीको प्रशिक्षकका रुपमा पहिलो पटक लगातार चौथो हार बेहोरेका छन् । इङलिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा ब्राइटनले सिटीलाई २-१ गोलले पराजित गरेको हो । 

ब्राइटनको मैदानमा सिटीले सुरुवाती अग्रता लिदै निराश प्रदर्शनलाई टुंग्याउने संकेत गरेको थियो । २३औं मिनेटमा अर्लिङ हालान्डले गोल गरेका हुन् । माटेयो कोभाचिचको पासमा हालान्डले दोस्रो प्रयासमा गोल गरेका थिए । तर सिटीले दोस्रो हाफमा आफ्नो अग्रता जोगाउन सकेन् ।

घरेलु टोलीले ७८ औं मिनेटमा सब्सिच्युट जोवाओ पेड्रोको गोल मार्फत् खेल बराबरी गर्दै पुनरागमन गरेको थियो । ८३औं मिनेटमा म्याट ओ राइलीले गोल गरेपछि सिटी स्तब्ध बनेको हो ।

ब्राइटनले खेलमा ३९ दशमबल पाँच प्रतिशत मात्र बल पोसेसन राखेको थियो । सिटीलाई खेलाडीको चोटले पनि असर गरिरहेको छ । नाथन आके, जन स्टन्स, ज्याक ग्रिलिस, रुवेन डियास ब्राइटनविरुद्धको खेलमा उपस्थित थिएनन् । यस्तै रोड्रि र अस्कर बबले पनि यो खेल गुमाएका थिए ।

सन् २००६ पछि सिटीले लगातार चार खेलमा हार बेहोरेको यो पहिलो पटक हो । ग्वार्डिवालाले २०१४-२०१५ को सिजनमा बायर्न म्युनिखको प्रशिक्षक हुँदा लगातार चार खेलमा पराजय बेहोरेका थिए ।

तालिकाको दोस्रो स्थानमा रहेको सिटीको ११ खेलबाट २३ अंक छ । चौथो स्थानमा रहेको ब्राइटनको १९ अंक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.