सरकारलाई मेटाको जवाफः ‘नेपालको संविधान मान्दिनँ’

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारलाई मेटाको जवाफः ‘नेपालको संविधान मान्दिनँ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले सामाजिक सञ्जाल फेसबुकको माउ संस्था मेटालाई नेपालमा दर्ता हुन पटक-पटक आग्रह गर्दा समेत बेवास्ता गरेको बताउनु भयो । 

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बाेल्दै उहाँले मेटाले नेपालको संविधान र कानून नमान्ने जवाफ फर्काएको समेत खुलासा गर्नुभएकाे छ ।

यस्तै उहाँले सरकारका आलोचक तथा व्यवस्थाविरोधीको मुख थुन्ने उद्देश्यले सामाजिक सञ्जालसम्बन्धी विधेयक नल्याइएको स्पष्ट पार्नुभएको छ । विधेयकमाथिको सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । 

उहाँले मुलुकमा डिजिटल प्लेटफर्महरूको बढ्दो प्रभावलाई नियमन गर्नको लागि विधेयक ल्याइएको बताउनु भयो ।  सामाजिक सञ्जालको माध्यमबाट मुलुकमा अशान्ती फैल्याउने तथा राष्ट्रहित विरोधी गतिविधिहरुलाई नियन्त्रण गर्नको लागि सरकारले विधेयक अघि सारेको उहाँले जिकिर गर्नुभयो । 

उहाँले नेपालमा सञ्चालन हुनको लागि सबै प्लेटफर्महरू कानूनी दायमा आउनैपर्ने जिकिर गर्दै सोही प्रावधान लागू गर्न विधेयक महत्वपूर्ण सावित हुने बताउनु भयो ।

सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित र उत्तरदायी बनाउने उद्देश्यले विधेयक ल्याइएको दोहोर्याउँदै उहाँले प्रतिपक्षीको आँखाबाट नहेर्न समेत आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.