सिंहदरबारकै कम्प्युटर सुरक्षा खतरामा, साइबर आक्रमण र डाटा चोरीको जोखिम

मंसिर १६, २०८० |जितेन्द्र झा
सिंहदरबारकै कम्प्युटर सुरक्षा खतरामा, साइबर आक्रमण र डाटा चोरीको जोखिम

काठमाडौं । देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्रै रहेका कम्प्युटरमा सुरक्षाका सामान्य उपायसमेत नअपनाउँदा साइबर आक्रमण र डाटा चोरीको जोखिममा रहेका छन् । सूचना प्रविधिका उपकरणको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे सरकारी कर्मचारीमा न्यून जानकारी र कम्प्युटरमा पुरानै सफ्टवेयरको प्रयोग हुनुले पनि महत्वपूर्ण सरकारी सूचनासम्म ह्याकरको सहजै पहुँच हुनसक्ने विज्ञ बताउँछन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले केही महिनाअघि सिंहदरबारभित्रका कम्प्युटर ह्याक गर्ने प्रयास भएको सूचना पाएपछि निगरानी गर्दा वर्षौंदेखि अपडेट नभएका कम्प्युटर नै यसको मूल कारण रहेको फेला पार्‍यो।

माइक्रोसफ्ट कम्पनीले विण्डोज सेभन भर्सनलाई अपडेट गर्न छाडेको वर्षौं भयो । उसले त्यो भर्सनलाई प्रयोग गरेमा सुरक्षा खतरा हुने भनेर सूचना नै जारी गरेको थियो । विण्डोज सेभन इन्स्टल भएका कम्प्युटरमा उसले सुरक्षाका लागि मद्दत पनि उपलब्ध गराउँदैन । तर १६ वर्ष पुरानो यो भर्सन सिंहदरबारभित्रका कतिपय कम्प्युटरमा अहिले पनि प्रयोग भइरहेका छन् । यसले साइबर आक्रमण र डाटा चोरीको जोखिम बढेको विज्ञहरु बताउँछन् ।

सरकारी निकायका कम्प्युटर प्रणालीलाई सुरक्षित राख्ने उद्देश्यका साथ सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत "राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह" गठन गरिएको छ । यो समूहले सरकारी कम्प्युटरमाथि चौबिसै घण्टा निगरानी गर्छ । समूहले सम्भावित साइबर आक्रमणबाट जोगिन लेटेस्ट भर्सनको जेन्युन अपरेटिंग सिस्टम प्रयोग गर्न सुझाव दिएको छ । तर यी सुझाव कार्यान्वयन भने भएका छैनन् । सरकारी कर्मचारीमा सूचना प्रविधि र साइबर सुरक्षाबारे पर्याप्त ज्ञान नै नभएको सरकारी अधिकारी बताउँछन् ।

केही साताअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कम्प्युटरहरु सरकारी इमेलमार्फत् ह्याकको प्रयास भयो । अपरिचित इमेलबाट आएका लिंक खोल्न नहुने, इमेल एड्रेसको आधिकारिकता हेर्नुपर्ने जस्ता सामान्य सचेतनाका उपाय पनि सरकारी निकायका अधिकारीले अपनाउन सकेका छैनन् ।

सरकारले राष्ट्रिय साइबर सुरक्षा नीतिमार्फत् सरकारी सूचना प्रणालीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हमलाकारीबाट हुन सक्ने आक्रमणको प्रतिरक्षा गर्ने नीति लिएको छ । तर त्यस अनुरुप कुनै ठोस काम भने हुन सकेको छैन । 


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।