काठमाडौं । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि इन्टरनेटमा उपलब्ध विभिन्न विकल्प प्रयोग गरी टिकटक चलाउने प्रवृत्ति बढेको छ । यसरी टिकटक चलाउनले अवैध र अनधिकृत भीपीएनको प्रयोग गर्ने गरेको पाइएको छ । यदि तपाई पनि भीपीएनको प्रयोग गरी टिकटक चलाइ रहनु भएको छ वा चलाउने सोचमा हुनुहुन्छ भने सचेत हुनुहोला । यसबाट तपाईंका व्यक्तिगत सूचना र बैंकिङ विवरण चुहिन सक्ने खतरा छ ।
नेपाल सरकारले टिकटक एप चल्न नदिने निर्णय गरेपछि नेपालमा यो प्रतिबन्धित छ । तर भर्चुअल प्राइभेट नेटवर्क भनिने भीपिएनको प्रयोग गरेर टिकटक चलाउने प्रवृत्ति बढेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । फ्री भीपीएनको प्रयोगले साइबर अपराधका घटना भएको भन्दै केही उजुरी नेपाल प्रहरीको साइबर ब्युरोमा परिसकेको छ । बैंकिङ ठगीका ती घटना फ्री भीपीएनबाटै भएको हो वा होइन त्यो निर्क्योल हुन भने बाँकी छ ।
टिकटकमा प्रतिबन्ध लागेपछि इन्टरनेटमा पैसा नै नतिरिकन डाउनलोड गर्न मिल्ने भीपीएनका प्रयोगकर्ता निकै बढेका छन् । यसबाट प्रयोगकर्ताको व्यक्तिगत सूचना चोरी हुने, बैंकिङ विवरणहरु चुहिने खतरा रहेको साइबर सुरक्षाविज्ञ राजकुमार महर्जन बताउँछन् । उनी भन्छन्, ‘फ्री एप्लिकेसनसँगै खतरनाक खालका सफ्टवेयर डाउनलोड हुन्छन् । त्यसले मोबाइल वा कम्प्युटरमा अर्काको पहुँच हुन सक्छ, ह्याक हुन सक्छ ।’
कतिपय भीपीएन प्रयोग गर्न पैसा तिर्नुपर्छ । नि:शुल्क भीपीएनभन्दा पैसा तिरेको सुरक्षाका दृष्टिकोणले कम जोखिम हुने विज्ञको भनाइ छ । तर नेपालमा भीपीएन प्रयोगलाई नियमन गर्ने कानुन छैन । छिमेकी भारतमा भीपीएन दर्ता गर्नुपर्ने नियम छ तर नेपालमा भने अहिलेसम्म यस्तो कुनै प्रावधान नरहेको सूचना प्रविधि विज्ञ राजनराज पन्तको भनाइ छ । ‘भारतमा दर्ताविना भीपीएन चल्दैन । नेपालमा भीपीएन दर्ता गराउने कुनै पोलिसी नै छैन । दर्ता गराउनु पर्ने बनाउनु आवश्यक छ,’ उनले भने ।
उता इन्टरनेट सेवा प्रदायकहरुले भने टिकटक बन्द गरिसकेकाले भीपीएनको प्रयोग गरी टिकटक प्रयोग भएकोमा आफूहरु जवाफदेही नहुने बताएका छन् । दूरसञ्चार प्राधिकरणले भने सबै इन्टरनेट सेवा प्रदायकले अझै टिकटक बन्द नगरेको आरोप लगाउँदै आएको छ । ‘हामीले बन्द गर्नुपर्ने निर्णय कार्यान्वयन गरेका छौं । अब अरु उपायले चलेको भए हामी जवाफदेही हुने छैनौं,’ आईएसपीएनका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले भने ।
पैसा तिर्न नपर्ने एपबाट प्रयोगकर्ताको डाटा चुहिनुका साथै दुरुपयोगको जोखिम बढी हुने भएकाले फ्री एप भन्नेबित्तिकै प्रयोग नगर्न सूचना प्रविधिविज्ञ राजनराज पन्तको सुझाव छ । ‘इन्टरनेटमा उपलब्ध नि:शुल्क भीपीएनको प्रयोगबाट हुनसक्ने हानीबारे सरकारले आमनागरिकलाई पर्याप्त जानकारी नै दिन सकेको छैन,’ उनले भने ।
भीपीएन प्रयोगले एकातर्फ टिकटक पूर्ण रुपमा बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन भने अर्कोतर्फ प्रविधिमा कम सचेत भएका नागरिकको डाटा चुहिन सक्ने जोखिम रहेको पन्तको भनाइ छ ।