काठमाडौंमा भोलिदेखि ईभी प्रदर्शनी

भाद्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा भोलिदेखि ईभी प्रदर्शनी

काठमाडौं । नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी भोलि (शुक्रबार) देखि हुने भएको छ । काठमाडौं भृकुटीमण्डपमा आइतबारसम्म हुने प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युत्‌को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाएर देशलाई आर्थिक रुपमा सवलीकरण गर्नु रहेको आयोजकको भनाइ छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहनेछन् । विद्युतीय सवारीलाई प्रवर्द्धन, प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध व्यापारको सहजीकरण र प्रवद्र्धका लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रणयन्त्र, हाउस वायरिङ सामग्रीका कम्पनीको सहभागिता रहनेछ ।

यस्तै, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणलगायत विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहनेछ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गरिने आयोजकको दाबी छ ।

साथै, यी उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य रहेको आयोजकको भनाइ छ । प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरण तथा यूएसआईडी क्लिन एयर एफएचआई ३६० रहेका छन् ।

-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.