काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि जडान नगरेको भन्दै नेपाल टेलिकम र एनसेललाई कारबाही गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले टेरामक्स प्रविधि जडानलाई तत्काल कार्यान्वयन नगर्न निर्देशन दिए ।
सरकारको निर्णयबाट खरिद भएको झण्डै तीन अर्बको टेरामक्स जडान परियोजनालाई अघि नबढाउन प्रधानमन्त्रीकै तहबाट निर्देशन भएपछि यो अलपत्र पर्ने भएको छ ।
जडान रोक्न निर्देशन दिएको सरकारले यो प्रविधिबारे हल्ला फैलाइएजस्तो कल रेकर्ड, एसएमएस पढ्न सक्ने प्रविधि रहे नरहेको भन्ने बताउन सकेको छैन ।
दूरसञ्चार सेवा प्रदायकले भने जस्तो सेवा दिएको वा नदिएको भन्ने जाँच गर्न टेरामक्स प्रविधि जडान गर्नुपर्ने प्राधिकरणको दाबी छ । सरकारले भने कल र एसएमएस समेत पढ्न सक्ने भन्दै विरोध हुन थालेपछि यसले गोपनीयतामा असर पर्ने भन्दै टेरामक्स जडान रोकेको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्णयबाट आर्थिक वर्ष २०७५/७६ मा नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्सबारे सञ्चार मन्त्रालयले स्वामित्व लिएको छैन । टेरामक्स खरिद गर्ने नीतिगत निर्णय गर्ने मोहन बस्नेत अहिले स्वास्थ्यमन्त्री छन् ।
टेरामक्स जडान नभए पनि प्रक्रियागत रुपमा खरिद भइसकेकाले सरकारको झण्डै तीन अर्बको परियोजना बालुवामा पानी हुने अवस्था आएको हो ।
नेपाल टेलिकम, एनसेल जस्ता कम्पनीको सेवाको गुणस्तर र शुल्कलगायत विषय जाँच्न मिल्ने उद्देश्यले ल्याइएको टेरामक्स प्रविधि खरिद प्रकृयादेखि नै विवादमा छ । एनटीसी र एनसेल दुबैले टेरामक्स जडान अस्वीकार गरेका छन् ।
दूरसञ्चार कम्पनीहरुको लगानी, ग्राहक र सेवा बढे पनि राजस्व वर्षेनी घटिरहेकाले उनीहरुको कारोबार विवरण र सेवा प्रवाहको प्राविधिक विश्लेषण आवश्यक रहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको दाबी छ ।
टेरामक्सको एक अर्बको हार्डवेयर नेपाल आइसकेको छ । त्यसवापत प्राधिकरणले ५० करोड कम्पनीलाई तिरेको छ । टेरामक्स प्रविधिकले ग्राहकको गोपनीयता हनन् हुन्छ वा हुन्न त्यसबारे कुनै प्राविधिक अध्ययन नै नगरी सरकारले यो प्रविधि जडान रोक्ने निर्णय गरेको हो ।