कर्णाली याक्सले कोर टिम जोगायो, शीर्षक्रम अझै अधुरो

असार २९, २०८३ |विनयज्योति सापकोटा
कर्णाली याक्सले कोर टिम जोगायो, शीर्षक्रम अझै अधुरो

काठमाडौं । तेस्रो संस्करणको अक्सन सम्पन्न भएपछि कर्णाली याक्सले अलराउन्डर र बलिङमा निक्कै बलियो टिम निर्माण गरेको छ । 

ललितपुरमा गत हप्ता भएको अक्सनपछि कर्णालीको टिमले ओपनरसहित ब्याटर अनुबन्ध गरे पनि शीर्षक्रम बलियो बनाउन विदेशी खेलाडी खोज्नुपर्ने छ । तर, उसलाई बलिङ र मध्यक्रममा नेपाली खेलाडीको पुग्दो साथ देखिएको छ।

तेस्रो संस्करणको एनपीएलका लागि कर्णाली याक्सले अक्सनबाट विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, शुभ कंशाकार, सूर्य तामाङ, दिवन पुन र सचिन शर्मालाई अनुबन्ध गरेको छ । यो अनुबन्ध हेर्दा लाग्छ- कर्णाली याक्सले पछिल्लो संस्करणका कोर टिमलाई नचलाइकन केही युवा खेलाडीमा लगानी थपेको छ ।

कर्णाली याक्सले रिलिज गरेको दुई खेलाडी विपिनप्रसाद शर्मा र दीपेन्द्र रावतलाई अक्सनमार्फत पुनः भित्र्यायो । कर्णालीले यसअघि उनीहरुलाई रिलिज गरेको थियो । यसबाहेक शुभ कंशाकार, सूर्य तामाङ, दिवन पुन र सचिन शर्मा पनि कर्णालीमा भित्रिए ।

दोस्रो संस्करणमा कर्णालीको शीर्षक्रम प्रियांक पञ्चाल, विलियम बोसिस्टो र नजिबुल्लाह जद्रानजस्ता विदेशी खेलाडीमा भर परेको थियो । तर, उसको ओपनिङ जोडी नियमित एउटै नहुँदा सिजनभरी संघर्ष गर्नुपर्यो । अहिले पनि टिमको ब्याटिङका गहिराइ कमजोर देखिन्छ । 

दोस्रो सिजनको टिमबाट रिटेन भएका सोमपाल कामी, गुल्सन झा र नन्दन यादवले टिमलाई अलराउन्ड सहयोग गर्नेछन् । राष्ट्रिय टिमबाट क्यामियो पारी खेलिरहेका गुल्सन झाले बलरका रुपमा क्रिकेटमा डेब्यू गरे पनि पछिल्ला केही वर्षमा आफूलाई अलराउन्डरका रुपमा रुपान्तरण गरे । 

तीव्र गतिका बलर सोमपाल र मिडियम फास्ट नन्दन यादवले पनि तल्लो क्रमको ब्याटिङमा ठिकठाक प्रदर्शन गर्न सक्छन् । उनीहरुलाई याक्सले राम्रो फिनिसरका रुपमा लिन सक्छ । दायाँ हाते ब्याटर र अफब्रेक बलर पवन सर्राफको उपस्थितिले टिमलाई थप बलियो बनाउँछ । तर, पछिल्ला घरेलु प्रतियोगितामा पवनको ब्याटिङ खासै चलेको छैन । तर, उनले बलिङबाट पनि सहयोग गर्न सक्नेछन् । 

२१ वर्षे विकेटकिपर ब्याटर दिपक डुम्रेले उमेर समूहमा राम्रो प्रदर्शन गरे पनि सिनियर टिममा आफूलाई प्रमाणित गर्ने अवसर यसै एनपीएलमा पाउन सक्छन् । युनिस विक्रम ठाकुरी र युवराज खत्रीलाई कर्णालीले यसअघि नै रिटेन गरिसकेको छ । दायाँ हातले लेग स्पिन बलिङ गर्न सक्ने युवाराज खत्री हुनु कर्णालीका लागि अर्को फाइदाको कुरा हो । 

गत सिजन उनले सुदूरपश्चिम, लुम्बिनी, चितवनविरुद्ध १-१ विकेट लिएका थिए । याक्सले अक्सनमार्फत शुभ कंशाकारलाई १० लाख, विपिनलाई ५ लाख, दीपेन्द्र रावतलाई ५ लाख, सूर्य तामाङ, दिवन पुन र सचिन शर्मालाई समान २-२ लाखमा अनुबन्ध गरेको हो । 

गत सिजन कर्णाली याक्स छैटौं स्थानमा रहँदै बारिए पनि उसले आफ्नो पुरानो नेपाली खेलाडीको संरचनामा विश्वास गरेको देखिन्छ । कर्णाली याक्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिगको हाइप बढाउन ठूलो सहयोग गर्यो । कारण थियो शिखर धवनको अनुबन्ध । 

समर्थकको ठूलो अपेक्षा भएको यो क्लब लिग चरणमा चौथो हुँदै दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । तर, दोस्रो संस्करणमा चौथो हुँदै बाहिरियो । तर, अब पुनरागमनको लक्ष्य राखेको याक्सले तेस्रो संस्करणको अक्सनमा शीर्ष क्रमका ब्याटर अनुबन्ध गर्न नसक्दा अब उसले ब्याटरका लागि विदेशी खेलाडी खोज्नुपर्ने भएको छ । 

विकेटकिपिमा पनि उसँग धेरै विकल्प नहुँदा त्यसमा पनि ध्यान दिनुपर्नेछ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।