
प्यूठान । प्यूठानमा झिमरुक नदीको सतह बर्षेनि बढ्दा आसपासका फाँट र बस्ती जोखिममा परेका छन् ।
सिरानतिरबाट बगेर आउने ढुंगा, गिट्टी र बालुवा थुप्रिँदा तलतिर नदीको सतह बर्षेनि बढदै गैरहेको छ । जसका कारण बर्खामा नदी बस्ती र फाँटमा पस्ने जोखिम बढेको छ । यो नदीले २०७२ सालमा बहाव परिवर्तन गरेर प्यूठान नगरपालिकाको हालको प्रशासनिक भवन हुँदै खेतियोग्य फाँटमा पसेको थियो ।
२०४४ साल र त्यसपछिका विभिन्न समय तथा २०७२ सालमा आएको बाढीले झिमरुक फाँटको करिब एक हजार हेक्टर जमिन बगरमा परिणत गरेको थियो । पटक पटक बस्ती र फाँटमा पसेको झिमरुक नदीको जोखिम अहिले झनै बढेको छ ।
पछिल्लो समयमा बढ्दै गइरहेको नदीको सतहका कारण स्थानीयमा त्रास छ । माथिल्लो क्षेत्रबाट बर्षेनि बगेर आउने ढुंगा, गिट्टी तथा बालुवाका कारण झिमरुक नदिको सतह बढ्दा त्यस आसपासका फाँट र बस्तीमा नदी पस्ने जोखिम बढेको हो । केही वर्षअघि बाढी छेक्न लगाइएका जाली नदिको सतह बढ्दा पुरिएका छन् ।
पहिले झिमरुक नदीका विभिन्न स्थानमा ठुल्ठुला दहहरू भए पनि अहिले ती सबै पुरिएका छन्। ढुंगा, गिट्टी, बालुवा थुप्रिँदा नदीको बहाव पनि पहिलेको तुलनामा सुस्त भएको स्थानीयको बुझाइ छ। झिमरुक जलविद्युत् आयोजनाको ड्याम निर्माणपछि दम्ती खैरा क्षेत्रमा नदिजन्य पदार्थ थुप्रिन थालेको दाबी उनीहरूको छ।
प्यूठान नगरपालिकाले बर्षेनि नदीजन्य पदार्थको उत्खनन्को ठेक्का लगाउँदै आएको छ। तर, उत्खनन् हुनेभन्दा थपिने परिमाण बढी हुँदा नदीको सतह बढ्दै गएको जनप्रतिनिधि बताउँछन्। दम्तीदेखि खैरासम्मको क्षेत्रमा करिब ६ लाख घनमिटर ढुंगा, गिट्टी बालुवा निकाल्नुपर्ने भए पनि बर्षेनि एक लाख घनमिटरमात्रै उत्खनन् हुने गरेको छ।
झिमरुक नदीमाथि बनेका १० वटा पक्की तथा झोलुंगे पुलका कारण पुल आसपासको क्षेत्रमा उत्खनन् गर्न नपाइने नियम भएकाले सीमित क्षेत्रमा मात्रै उत्खनन्को ठेक्का खोल्ने गरिएको छ। नगरपालिकाको अध्ययनले पछिल्लो एक दशकमा झिमरुक नदी दुईदेखि ३ मिटरसम्म अग्लिएको देखाएको छ।
सतह बढ्दै जाँदा नदीले ठूलो भेल आउँदा धार फेर्नसक्ने जोखिमसमेत छ । त्यसैले सम्भावित विपद् रोक्न सम्बन्धित निकायले नदीको वास्तविक अवस्था अध्ययन गरी वातावरण संरक्षण र जोखिम न्यूनीकरणलाई सँगसँगै अघि बढाउनुपर्ने देखिएको छ।