
काठमाडौं । युवा खेलाडीमा विश्वास देखाउँदै आफ्नो स्वदेशी स्क्वाड तयार पारेको पोखरा एभेन्जर्सले तेस्रो सिजनको अक्सनमा अलराउन्डरमा विशेष ध्यान दिएको छ ।
कुशल भुर्तेलको नेतृत्वमा रहेको टिममा अनुभवी खेलाडीको उपस्थिति भने खास देखिँदैन । विकेट किपरको रुपमा टिममा अर्जुन घर्तीमात्र छन् भने आक्रमक फिनिसरको कमी पनि टिममा छ ।
अक्सनपछि कस्तो बन्यो त पोखरा एभेन्जर्स ?
नेपाल प्रिमियर लिग- एनपीएलका दुवै सिजन गरी प्लेअफसम्म पुग्न नसकेको पोखरा एभेन्जर्समाथि तेस्रो सिजन जसरी पनि लिग चरण पार गर्नु पर्ने दबाब छ । त्यसै कारण टिमले अक्सनमार्फत युवा खेलाडीहरुमाथि विश्वास देखाएको छ ।
कप्तान तथा मार्की खेलाडी कुशल भुर्तेल टोलीका प्रमुख आधार हुन् । उनले ओपनिङमा आक्रामक ब्याटिङ गर्नुका साथै लेग स्पिन बलिङ पनि गर्न सक्छन् । अर्जुन कुमाल इनिङ्स होल्ड गर्न सक्षम ओपनर हुन् भने किरण ठगुन्ना मध्यक्रममा ब्याटिङ गर्न सक्छन् ।
दिनेश खरेल बायाँहाते ब्याटर तथा स्लो लेफ्ट आर्म अर्थोडक्स अलराउन्डरका रूपमा टोलीका महत्वपूर्ण खेलाडी हुन् । सागर ढकालले टिमको स्पिन आक्रमणको नेतृत्व गर्नेछन् । उनलाई विपिन खत्रीले साथ दिनेछन् । टिमको फास्ट बलिङका प्रमुख हतियार आकाश चन्द हुन् ।
अक्सनमा १५ लाखमा भित्रिएका अर्जुन घर्ती विकेटकिपर ब्याटर हुन् । विवेक रानामगर तल्लो क्रमका ब्याटर तथा मिडियम पेस अलराउन्डर हुन् । सन्नी विक पनि आवश्यकता अनुसार दुवै विभागमा योगदान दिन सक्छन् । विपिन आचार्य अफस्पिन बलिङ गर्न सक्षम अलराउन्डरका रूपमा उपयोगी विकल्प हुन सक्छन् ।
सुदीप अर्याल र प्रतिक पोख्रेलको मिडियम पेस पनि पोखराका लागि उपयोगी हुनसक्छ । यस टोलीको सबैभन्दा बलियो पक्ष भनेको अलराउन्डरहरूको उपस्थिति हो । स्पिन र फास्ट बलिङमा पनि प्रसस्त विकल्प छन् । तर, अनुभवको कमी भने प्रस्ट देखिन्छ ।
गत सिजन पोखराले अर्जुन कुमालमाथि खास विश्वास गरेको थिएन । यदि अर्जुनलाई कुशलसँग प्रारम्भिक जोडीका रुपमा प्रयोग गरिए टिमले शीर्ष क्रममा दुई विदेशी ब्याटर खोज्नु पर्नेछ । जसमध्ये एक जना विकेट किपर हुनु आवस्यक छ ।
टिमको फास्ट बलिङमा पनि अनुभवको कमी छ । आकाशसँगै पावरप्ले र डेथ ओभरमा बलिङ गर्न सक्ने फास्ट बलर उसको अर्को आवस्यकता हो । टिमले एकजना फास्ट बलिङ अलराउन्ड र एकजना आक्रमक फिनिसर पनि खोज्नु पर्नेछ । स्पिन अलराउन्डरको विकल्प पनि यहिँबाट पूर्ति गर्न सके पोखरा सन्तुलित टोली बन्नेछ ।
सुरुवाती २ सिजन प्लेअफ सम्मपनि पुग्न नसकेको पीडाबीच सही संयोजन र रणनीति मिलाउन सके पोखरा उपाधि दाबेदार बन्न सक्छ ।