काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग- एनपीएलको अक्सनबाट आफ्नो मुख्य संरचना तयार गरिसकेको सुदूरपश्चिम रोयल्स अब विदेशी खेलाडी अनुबन्धतर्फ केन्द्रित भएको छ ।
टोलीको बलियो पक्ष भनेको ब्याटिङ गहिराइ, बलियो फास्ट बलिङ आक्रमण र दीपेन्द्रसिंह ऐरी जस्ता स्टार अलराउन्डरको उपस्थिति हो । यद्यपि शीर्षक्रममा आक्रामक ब्याटर, स्पिन विभागमा थप अनुभव, बायाँ हाते फास्ट बलर र फास्ट बलिङ अलराउन्डरको आवश्यकता अझै छ ।
यदि विदेशी खेलाडी हस्ताक्षर गर्दा यी आवश्यकता पूरा गर्न सके सुदूरपश्चिमले उपविजेताको ट्याग हटाउन सक्छ । दुई पटक उपविजेतामा सीमित हुनुको पीडाबीच सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग- एनपीएलको अक्सनमा निकै योजनाबद्ध देखियो ।
आफ्नो पुरानै कोर टिम कायम गर्न यसले रिलिज गरेका ३ खेलाडीलाई पुनः टिममा सामवेश गर्यो भने ट्यालेन्ट हन्टमार्फत आएका खेलाडीलाई रिटेन गर्ने एक मात्र टोली बन्यो । विगतका कमजोरी सुधार गरेर बलिया पक्षलाई अझ मजबुत बनाउँदै टोलीले यसपटक उपाधि जित्ने लक्ष्य राखेको छ ।
सुदूरपश्चिमको बलियो पक्षको कुरा गर्दा टोलीको सन्तुलन राम्रो देखिन्छ । ब्याटिङमा गहिराइ र बलियो फास्ट बलिङ आक्रमण उसको विशेषता हो । नेपाली राष्ट्रिय टी-२० आई टिमका कप्तान दीपेन्द्रसिंह ऐरी टोलीका सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् ।
उनको आक्रामक ब्याटिङ, उपयोगी अफस्पिन बलिङ र उत्कृष्ट फिल्डिङले टोलीलाई हरेक विभागमा सन्तुलन दिन्छ । विनोद भण्डारी अनुभवी विकेटकिपर तथा ओपनरका रूपमा टोलीलाई बलियो सुरुवात दिने जिम्मेवारीमा छन् । आरिफ शेख मध्यक्रमका भरपर्दा ब्याटर हुन् ।
इशान पाण्डे ओपनिङसहित आवश्यक पर्दा शीर्षक्रममा लचकता दिने क्षमता राख्छन् । अभिनाश बोहरा टोलीका डेथ ओभर स्पेसेलिस्ट हुन् । हेमन्त धामी र हिक्मत महराले उनलाई मध्यम गतिको बलरका रुपमा सहयोग गर्ने छन् । १० लाख रुपैयाँमा अनुबन्धित भएका दीपक बोहरा विकेटकिपर ब्याटरको रुपमा विकल्प दिने छन् भने २ लाख रुपैयाँमा सूदूरमा सामेल टेक रावत पनि विकेटकिपिङ गर्न सक्षम छन् ।
बायाँ हाते स्पिन बलिङमार्फत विविधता थप्ने क्षमता अनिल खरेलसँग छ । स्पिन तथा तल्लो क्रममा ब्याटिङ गर्न सक्षम मिलन बोहराका लागि टिमले ५ लाख रुपैयाँ खर्च गरेको छ । लेग स्पिनर सचिन भट्ट २ लाखमा टिममा अनुबन्धन भएका छन् भने आयुव चन्द २ लाख रुपैयाँमा मध्यक्रमका ब्याटरका रूपमा टोलीमा समावेश भएका छन् ।
विकेटकिपिङ र ब्याटिङ क्रममा पर्याप्त विकल्प उसको बलियो पक्ष हो । टिमको व्याटिङ क्रममा राष्ट्रिय टिमका खेलाडीको वर्चस्व छ । व्याटिङ अर्डरमा दिपेन्द्र मात्र विस्फोटक ब्याटिङका लागि परिचित छन् । इनिङ बिल्ड गर्ने र लामो सयम क्रिजमा टिक्ने अन्य ब्याटरको विशेषता हो ।
स्पिन विभागमा विकल्प भए पनि अनुभवको कमी छ । दिपेन्द्रले पूर्ण स्पेल बलिङ गरे पनि उनलाई साथ दिने एउटा बायाँ हाते र अर्को लेग स्पिनर टिमलाई आवश्यक पर्ने छ । यसै कोटाबाट टिमले अलरान्डरको आवश्यकता पनि पूरा गर्नुपर्ने छ । टिमको स्वदेशी फास्ट बलिङको नेतृत्व अभिनाशले गर्ने छन् ।
प्लेइङ ११ मा उनलाई साथ दिन हेमन्त र हिक्मतमध्ये एक जनाले मात्र स्थान बनाउन सक्छन् । अक्सनमा कुल २६ लाख रुपैयाँ खर्च गरेको सुदूरपश्चिमको पर्समा १६ लाख ५० हजार रुपैयाँ बाँकी छ । विदेशी खेलाडी हस्ताक्षर गर्दा र ट्यालेन्ट हन्टमार्फत प्रतिभा स्काउट गर्दा सुदूरले सही ढंगले खेलाडी छनोट गरेर मैदानमा योजनाअनुसार प्रदर्शन गर्नसके दुई पटक उपविजेतामा सीमित हुन पुगेको सुदूरपश्चिमको ट्रफीको प्यास निश्चित रुपमा मेटिने छ ।