
काठमाडौं । उत्तर अमेरिकामा आयोजना हुन लागेको फुटबलको महाकुम्भ, फिफा विश्वकप २०२६ को लागि अब ३८ दिन बाँकी छ ।
विश्वकपको माहोल तातिरहेको बेला, युरोपेली फुटबलको पावरहाउस बेल्जियम आफ्नो १५औं विश्वकप यात्राको लागि तयार देखिएको छ । ‘रेड डेभिल्स’ उपनामले चिनिने यो टोली यसपटक आफ्नो पहिलो विश्वकप उपाधिको खोजीमा छ ।
बेल्जियमको विश्वकप इतिहासलाई फर्केर हेर्दा २०१८ को रुस विश्वकप सबैभन्दा सफल अध्याय सावित भयो, जहाँ टोलीले तेस्रो स्थान हासिल गर्दै कास्य पदक जितेको थियो । यद्यपि, २०२२ को कतार विश्वकपमा समूह चरणबाटै बाहिरिनु परेपछि टोलीमा परिवर्तन र पुनर्संरचनाको प्रक्रिया सुरु भएको थियो ।
बेल्जियमको फुटबलमा सन् १९८० को दशकलाई पहिलो ‘स्वर्ण युग’ मानिन्छ । लेजेन्ड खेलाडी एन्जो सिफोको नेतृत्वमा बेल्जियमले सन् १९८६ को मेक्सिको विश्वकपमा चौथो स्थान हासिल गरेको थियो । सिफोले बेल्जियमका लागि विश्वकपमा सबैभन्दा धेरै १७ खेल खेल्ने कीर्तिमान अझै पनि सुरक्षित राखेका छन् ।
त्यसपछिको अर्को स्वर्णिम अध्याय सन् २०१० पछि सुरु भयो । एडेन हाजार्ड, केभिन डे ब्रुयना र रोमेलु लुकाकु जस्ता खेलाडीहरूको ‘गोल्डेन जेनेरेसन’ ले सन् २०१८ को रुस विश्वकपमा तेस्रो स्थान हासिल गर्दै बेल्जियमको विश्वकप इतिहासकै सबैभन्दा सफल नतिजा दिलायो ।
यसै क्रममा बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा समेत रहन सफल भएको थियो । सन् २०२५ को जनवरीमा नियुक्त भएका फ्रान्सेली प्रशिक्षक रुडी गार्सियाले टोलीलाई नयाँ उर्जा दिएका छन् । गार्सियाको नेतृत्वमा बेल्जियमले युईएफए समूह ‘जे’ मा कुनै पनि खेल नहारी ८ खेलमा ५ जित र ३ बराबरी खेल्दै अपराजित रूपमा विश्वकपको टिकट पक्का गरेको हो ।
बेल्जियमका लागि १ सय २४ क्याप र कीर्तिमानी ८९ गोल गरिसकेका रोमेलु लुकाकु टोलीको मुख्य स्ट्राइकर हुन् । उनीसँगै नापोलीमा व्यावसायिक फुटबल खेल्ने मिडफिल्डर केभिन डे ब्रुयनाले टोलीको खेललाई नियन्त्रण गर्नेछन्, जसलाई प्रशिक्षकले टोलीको ‘क्रिएटिभ इन्जिन’ को रूपमा लिएका छन् ।
म्यानचेस्टर सिटीका विंगर जेरेमी डोकू र युवा स्ट्राइकर लोइस ओपेन्डा जस्ता खेलाडीहरूको उपस्थितिले बेल्जियमको आक्रमणलाई थप धारिलो बनाएको छ । २०२६ विश्वकपमा बेल्जियम समूह ‘जी’ मा परेको छ, जहाँ उसले इजिप्ट, इरान र न्युजिल्यान्ड जस्ता फरक शैलीका फुटबल खेलने टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ ।
बेल्जीयमले आफ्नो पहिलो खेल जुन १५ मा इजिप्टविरूद्ध सियाटलमा खेल्नेछ । त्यस्तै, जुन २१ मा इरानविरूद्ध दोस्रो र जुन २६ मा न्युजिल्यान्डविरुद्ध भ्यानकुभरमा आफ्नो समूह चरणको अन्तिम खेल खेल्नेछ । हाल फिफा वरीयतामा ९औं स्थानमा रहेको बेल्जियमले यस पटक उत्तर अमेरिकामा इतिहास रच्ने लक्ष्य राखेको छ।
प्रशिक्षक गार्सियाको ‘हाई–ईन्टेनसीटी’ फुटबल शैली र अनुभवी र युवा खेलाडीहरूको तालमेलले के ‘रेड डेभिल्स’ ले यस पटक आफ्ना समर्थकहरूलाई पहिलो विश्वकप ट्रफीको उपहार दिन सक्ला?