
काठमाडौँ । २८ वर्षको अन्तरालपछि नर्वे फेरि विश्व फुटबलको सर्वोच्च मञ्चमा फर्किएको छ । अघिल्लोपटक सन् १९९८ मा फ्रान्समा भएको विश्वकपयता नर्वेको पुरुष टिम फुटबलको यो महाकुम्भमा देखापरेको थिएन ।
तर सन् १९३८ मा पहिलो सहभागिताका बेला होस् वा ९८ मा ब्राजिललाई हराउँदा, अथवा झन्डै ३ दशकको अनुपस्थितिमै किन नहोस्, नर्वेलाई कम आँक्ने आँट कसैले गरेका थिएनन् । विश्वकपको यो विशेष सामग्री शृंखलामा आज हामी यही ‘डार्क हर्स’ टोली नर्वेको चर्चा गर्नेछौँ ।
नर्वेको विश्वकपमा पुनरागमन कुनै संयोग मात्र होइन, ऐतिहासिक सफलता नै हो । किनकि शतप्रतिशत नतिजासहित विश्वकपमा छनोट हुने मात्र चार टोलीमध्ये एक हो नर्वे । प्रशिक्षक स्टाले सोल्बाकेनको नेतृत्वमा रहेको नर्वेले युरोपेली छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना सबै ८ खेलमा जित हात पारेको थियो ।
छनोट चरणमा ३७ गोल गर्दा नर्वेले मात्र ५ गोल बेहोरेको थियो, यसले पनि उनीहरूको आक्रामक र रक्षात्मक पक्ष कति मजबुत छ भन्ने देखाउँछ ।
टोलीको मुख्य हतियार हुन्, उत्कृष्ट फर्ममा रहेका स्ट्राइकर अर्लिङ हालान्ड । २५ वर्षको उमेरमै नर्वेका लागि ५५ गोल गरिसकेका हालान्डले छनोट चरणमा मात्रै १६ गोल गरेका थिए । उनलाई साथ दिन मिडफिल्डमा 'क्रिएटिभ इन्जिन' को रूपमा कप्तान मार्टिन ओडेगार्ड छन् । आर्सनलका ओडेगार्डले छनोट चरणका ५ खेलमा ७ वटा गोलको अवसर सिर्जना गरेका थिए ।
हालान्ड र ओडेगार्डसँगै अलेक्जेन्डर सोर्लोथ, एन्टोनियो नुसा र ओस्कर बब जस्ता खेलाडीको उपस्थितिले यस टोलीलाई नर्वेको 'गोल्डेन जेनेरेसन' बनाएको छ ।
उसो त, नर्वेको विश्वकप इतिहास धेरै लामो छैन । तर यादगार भने छ । सन् १९३८, १९९४ र १९९८ पछि उनीहरू चौथोपटक विश्वकप खेल्दै छन् । सन् १९९८ को विश्वकपमा ब्राजिललाई २-१ ले हराएको ऐतिहासिक क्षण अझै पनि नर्वेजियन फुटबलप्रेमीहरूको मानसपटलमा ताजै छ ।
नर्वेको अहिलेसम्मको उत्कृष्ट नतिजा सन् १९३८ र १९९८ मा अन्तिम १६ सम्म पुग्नु हो .
यसपटक नर्वे कठिन मानिएको समूह 'आई' मा परेको छ, जहाँ उनीहरूले साबिक उपविजेता फ्रान्स, अफ्रिकी पावरहाउस सेनेगल र इराकसँग प्रतिस्पर्धा गर्नेछन् । नर्वेले आफ्नो पहिलो खेल जुन १६ मा इराकसँग खेल्नेछ ।
नर्वेले विश्वकप तयारीका लागि अमेरिकाको नर्थ क्यारोलिनास्थित ग्रिन्सबोरोलाई आफ्नो 'बेस क्याम्प' बनाएको छ । जसको परीक्षण डेढ महिनापछि हुँदै छ । विश्वकपमा प्रशिक्षक स्टाले सोल्बाकेनको रणनीति र हालान्डको गोल वर्षाको प्रभाव नर्वेका लागि कस्तो रहला त ? चासोको केन्द्रमा यही प्रश्न रहनेछ ।