टीयू क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न निर्देशन

वैशाख १३, २०८३ |खेल ब्युरो
टीयू क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न नेपाल क्रिकेट संघ क्यानलाई निर्देशन दिएको छ । त्रिविको कार्यकारी समितिले विश्वविद्यालयको स्वामित्वमा रहेको क्रिकेट मैदान तोकिएको समयमा खाली नगरे नियमानुसार हुने अल्टिमेटम पनि दिएको छ ।

त्रिविका प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले जारी गरेको पत्रमा रंगशालाको करार नवीकरण नगर्ने उल्लेख छ । केही महिनाअघि मात्रै स्तरोन्नतिको पहिलो चरण सकिएको रंगशाला खाली गर्न त्रिवि कार्यकारी समितिले पत्र पठाएपछि त्यहाँको लगानी र मैदानको भविश्यप्रति प्रश्न उठेको छ । क्यानको पछिल्लो बोर्ड बैठकले भने सम्झौता नवीकरण गर्ने निर्णय गरेको थियो । त्रिवि र क्यानबीचको सम्झौता यही वैशाख अन्तिममा सकिँदै छ । नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले टियूको पत्र प्राप्त नभएको बताउनुभयो ।

यसअघि गत वैशाख ४ गते त्रिविले अतिक्रमित जग्गा फिर्ता ल्याउन ३५ दिनको सूचना निकालेको थियो । महाशाखा प्रमुख राईका अनुसार जग्गा छानबिन समितिको प्रतिवेदन र उक्त सूचनाबमोजिम १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएको हो ।

त्रिवि क्रिकेट मैदानका लागि क्यान र त्रिभुवन विश्वविद्यालयबीच २०५९ वैशाख १ गते सम्झौता भएको थियो ।

मैदानमा सरकारले करोडौं लगानी गरेको छ । गत वर्ष मात्र मैदान स्तरोन्नति गर्दा प्यारापिटका लागि ४३ करोड र फ्लडलाइट जडानका लागि ४२ करोड खर्च भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गर्दै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजनासमेत स्वीकृत गरिसकेको छ ।

गत चैत २३ मा बसेको क्यानको बोर्ड बैठकले करार सम्झौता अवधि थप गर्न राष्ट्रिय खेलकुद परिषद्‌मार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सुरुको ३ वर्ष क्यानले वार्षिक ३ लाख रुपैयाँ भाडा दिँदै आएको थियो । तर चौथो वर्षबाट भने क्यानले वार्षिक नौ लाख भाडा तिर्दै आएको छ ।

टीयू क्रिकेट रंगशालामा हालसम्म ३५ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ टी २० आई खेलिएका छन् । हालै यहाँ पहिलोपटक फ्लडलाइटमा नेपाल र यूएईले २ खेलको टी-२० आई सिरिज खेलेका थिए । यस रंगशालामा हाल आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, यूएई र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज चलिरहेको छ । वैशाख २९ गतेदेखि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को लिग टू सिरिज यहीँ आयोजना हुनेछ ।