एन्फाको निलम्बन फिर्ता लिन फिफा र एएफसीको पत्राचार

वैशाख १०, २०८३ |खेल ब्युरो
एन्फाको निलम्बन फिर्ता लिन फिफा र एएफसीको पत्राचार

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फाको निलम्बन फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद् राखेपलाई अनुरोध गरेका छन् ।

फिफा र एएफसीले वैशाख २१ गतेसम्ममा एन्फाको निलम्बन फुकुवा गरेर सबै सरोकारवालाई सहभागी गराई साझा सहमति खोज्ने प्रयास गर्न भनेको हो ।

गत हप्ता राखेपले यी दुई अन्तर्राष्ट्रिय निकायसँग छलफल गरेको थियो । यद्यपि, छलफल कुनै निष्कर्षमा पुगेको थिएन । यसपछि आज फिफा र एएफसीले एन्फाका महासचिव किरण राईलाई पत्र लेख्दै राखेपको निलम्बनले एन्फाको स्वायत्ततामा हस्तक्षेप भएको ठहर गरेका हुन् । फिफाले आफूमातहतका संघहरू स्वायत्त रहनुपर्ने र निर्वाचनको निर्णय आफैँ लिनुपर्ने बताएको छ । यता राखेपले भने यो पत्रबारे अहिलेसम्म केही जानकारी दिएको छैन ।

राखेपले गत चैत ११ गते एन्फालाई निलम्बन गरेको थियो । एन्फाको निर्वाचन प्रक्रिया राष्ट्रिय खेलकुद विकास ऐनअनुसार नभएको भन्दै तहगत निर्वाचन गर्न निर्देशन दिएर निलम्बन गरिएको थियो । त्यसपछि फिफा, एएफसी र एन्फासँग राखेपले छलफलसमेत गरेको थियो । यसअघि पनि फिफा र एएफसीले १६ जनवरी, १३ मार्च र ४ अप्रिलमा एन्फा पत्राचार गरिसकेका छन् ।