विश्वकप लिग टुका खेल कान्तिपुर म्याक्समा

वैशाख १०, २०८३ |खेल ब्युरो
विश्वकप लिग टुका खेल कान्तिपुर म्याक्समा

काठमाडौँ । आईसीसी मेन्स क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, ओमान र यूएई सम्मिलित सिरिजको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स टुले गर्ने भएको छ । सिरिज आगामी शनिबारदेखि टियु क्रिकेट स्टेडियममा हुनेछ । 

सिरिजका ६ खेल कान्तिपुर म्याक्स टुबाट प्रत्यक्ष रूपमा हेर्न सकिनेछ । नेपालले आफ्नो पहिलो खेल शनिबार यूएईसँग खेल्नेछ भने ओमानसँग वैशाख १६ मा प्रतिस्पर्धा गर्ने तालिका छ । यूएईसँगको दोस्रो खेल १८ गते र ओमानसँग वैशाख २२ गते खेलिनेछ । सिरिजका लागि यूएई र ओमान दुवै नेपाल आइसकेका छन् । यूएइले नेपालसँग दुई टी-२० आई खेलेको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपालले पहिलो खेल हारे पनि दोस्रो खेलमा पुनरागमन गर्दै सिरिज एक-एकको बराबरी गर्यो । 

ओमानले भने नेपाल ‘ए‘सँग एकदिवसीय खेलिरहेको छ । पहिलो खेलमा नेपाल ‘ए’लाई हराएको ओमानले भोलि पनि खेल्नेछ । लिग टु का लागि स्टुअर्ट लले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल र विनोद भण्डारीलाई समावेश गरेका छन् । नेपालका लागि घरेलु मैदानमा हुने सिरिज महत्त्वपूर्ण छ । तालिकाको सातौँ स्थानमा रहेको नेपालको २० खेलबाट १२ अंक छ । पुच्छारमा रहेको यूएईको १० अंक र ओमान २४ खेलबाट २९ अंकका साथ तेस्रो स्थानमा छ ।