
काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले शनिबारदेखि समर फुटबल क्याम्प २०२६ सुरु गरेको छ ।
सातदोबाटोस्थित नेपाल स्पोर्ट्स फेलोसिपको मैदानमा शनिबारदेखि आयोजित यो क्याम्प वैशाख ५ गते सम्म हुने छ । पहिलो दिनको क्याम्पमा ६१ विद्यार्थी सामेल थिए । छुट्टीको समयमा विद्यार्थीहरू लामो समय फोन, ल्यापटप, टिभी जस्तै इलेक्ट्रोनिक उपकरण हेर्दै आफ्नो समय बिताउने गर्दै गरेको र त्यसले दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने हुँदा विद्यार्थीहरू लाई ग्याजेट बाट केही समय भए पनि टाढा राख्ने उद्देश्यका साथ यो क्याम्प आयोजना गरिएको हो ।
विद्यार्थीको मानिसको र शारीरिक स्वास्थ्यका साथै नेपालको लोकप्रिय खेल फुटबलमा सानै उमेर देखि आकर्षित पार्ने योजना पनि यस क्याम्पको रहेको छ । ४ देखि १६ वर्षसम्मका बालबालिका रहेको यस क्यामको पहिलो दिनमा उमेर अनुसार समूह विभाजन गरि प्रशिक्षण गराइयो ।
विद्यार्थीहरूलाई बिराज साथसाथै अन्य एएफसीद्वारा प्रमाणित उत्कृष्ट प्रशिक्षकहरूले प्रशिक्षण दिने छन् । विकेश भने त्रिभुवन आर्मी फुटबल क्लबसँग विराट गोल्ड कप खेल्न गएकाले शनिबार क्याम्पमा उपस्थित थिएनन् । उनी सम्मीलित त्रिभुवन आर्मी फुटबल क्लबले शनिबार झापा ११ सँग आफ्नो पहिलो खेल खेल्ने छ ।
बालबालिकाको वृद्धिलाई लक्षित गर्दै डेभलपमेन्ट प्लान तयार गरी सोही अनुसार क्याम्प अवधि भर बालबालिकालाई प्रशिक्षण गराइने छ । नेपाल फुटबल खेलाडी संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी बिक्रम लामा र एजिसका प्रबन्ध निर्देशक सुरज मगरद्वारा टीएफटीसी समर फुटबल क्याम्प २०२६ को औपचारिक उद्घाटन गरिएको थियो ।
एजिस स्पोर्ट्स वेयर बिक्रेता कम्पनी हो । यस कम्पनीले विशेष गरि जिम वेयर्सको बिक्री गर्दै आएको छ । विगत ६ महिनादेखि बालबालिकाको फुटबल खेल कौशलको विकास र वृद्धिमा काम यस ट्रेनिङ सेन्टर गर्दै आएको छ । ट्रेनिङ सेन्टरले हरेक शनिबार ग्रासरुट प्रशिक्षण गराउँदै आएको छ ।
यस क्याम्पमा सहभागी मध्यबाट सम्भावना देखिएका २ प्रशिक्षार्थीले १ वर्षको लागि ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरमा छात्रवृत्ति पाउने छन् ।