
काठमाडौं । पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले देशभरका विमानस्थलहरूमा २४ घन्टाभित्रमा यात्रु सेवा तथा मानवमैत्री पूर्वाधारमा सुधार ल्याउन निर्देशन दिएको छ ।
सुर्खेत विमास्थलले सरकारले तोकेअनुसार २४ घन्टाभित्र विमानस्थलबाट सबै मापदण्ड पूरा गरेर सेवा प्रवाह गर्न तयार रहे पनि प्राविधिक कारणले सुरक्षित स्थनपान कक्षबाहेक अन्य सेवा सञ्चालनमा समस्या हुने भएको छ । दैनिक जसो यात्रुमैत्री सेवाका लागि विमानस्थललाई अपाङ्गमैत्री, पूर्ण सरसफाइयुक्त भइरहेको दाबी गरे पनि विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय उड्डययन संगठनले तोकेका र जनस्वास्थ्यका प्रचलित राष्ट्रिय मापदण्ड कडाइका साथ पालना गर्न गराउन र महिला यात्रुका लागि नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउन समस्या देखिएको हो ।
सरकारको निर्देशनपछि शनिबार र आइतबार लगातार बिदा परेका कारण निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन समस्या छ । यद्यपि विमानस्थलले भने सम्भव भएसम्म सरकारले तोकेका मापदण्ड पालन गर्न र गराउन तयार रहेको र त्यसका लागि सबै गृहकार्य गरिरहेको दाबी गरेको छ ।
यात्रुहरू भने सरकारले निर्णय स्वागतयोग्य रहेको भन्दै विमानस्थललाई सुरक्षित र भरपर्दाे बनाउन सरकारको निर्देशन तत्काल पालना गर्नुपर्ने बताउँछन् । नागरिक उड्ड्यन प्राधिकरण विराटनगरले विमानस्थल सरसफाइमा ध्यान दिनुका साथै मानवमैत्री पूर्वाधरमा जोड दिएको जनाएको छ ।
पर्यटन तथ नागरिक उड्डयन मन्त्रालयले देशभरका विमानस्थलहरूमा यात्रु सेवा, सरसफाइ तथा मानवमैत्री पूर्वाधारमा २४ घन्टाभित्र सुधार गर्न निर्देशन दिए बमोजिम विराटनगर विमानस्थलले निर्देशनको पालना गर्दे अगाडि बढेको जनाएको छ । सरसफाईमा पहिलेदेखि नै ध्यान दिए पनि विशेष चार्ट बनाएर सरसफाइ सुरु गरिएको छ भने महिला यात्रुका लागि निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन सुरु गरेको छ ।
महिला प्रहरीमार्फत प्याड वितरण गरिएको विराटनगर विमानस्थलले जनाएको छ । स्तनपान कक्ष पनि सञ्चालनमा ल्याएको छ भने बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्थापनका लागि छुट्टै कक्ष नभए पनि बेडको व्यवस्था गरिएको विराटनगर बिमानस्थलले जनाएको छ । विराटनगर विमानस्थलले दैनिक १८ देखि २० वटा उडान गर्दे आएको छ ।