लिग-२ : नेपालले खेल्ने दुईवटा घरेलु शृंखलाको खेल तालिका सार्वजनिक

चैत्र २४, २०८२ |खेल ब्युरो
लिग-२ : नेपालले खेल्ने दुईवटा घरेलु शृंखलाको खेल तालिका सार्वजनिक

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले खेल्ने दुईवटा घरेलु शृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ- क्यानले मंगलबार सामाजिक सञ्जालमार्फत पश्चिम एसियाको अस्थिर परिस्थितिका कारण स्थगित नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक सिरिजका साथै नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । 

यसअघि नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक सिरिज फागुन २६ गतेदेखि सुरू हुने तालिका थियो । अब वैशाख १२ गते देखि २२ गतेसम्म सो प्रतियोगिता आयोजना हुनेछ । नेपालले उद्दघाटन खेलमा यूएईसँग खेल्दै सिरिजको सुरूवात गर्ने छ । त्यसको चार दिनपछि ओमान तथा १८ गते पुनः यूएई र २२ गते ओमानसँग खेल्ने छ ।

यो सिरिज सकिएको एक सातापछि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को त्रिकोणात्मक सिरिज सुरू हुनेछ । यो सिरिज वैशाख २९ देखि जेठ ८ गतेसम्म चल्ने छ । नेपालले वैशाख २९ गते स्कटल्यान्डसँग खेल्दै सिरिजको सुरूवात गर्ने छ । यस्तै जेठ २ गते अमेरिका तथा ४ गते पुन: स्कटल्यान्ड र ८ गते अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ । 

दुवै सिरिजका कुल १२ खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछन् । लिग-मा २० खेल खेलिसकेको नेपालले ५ जितसहित १२ अंक जोडेको छ । नेपाल लिगको सातौं स्थानमा छ । अमेरिका २४ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा छ भने २६ खेल खेलेको स्कटल्यान्ड ३२ अंकसहित दोस्रो स्थानमा छ । 

२२ खेल खेलेको ओमान २७ अंकसहित चौथो स्थानमा रहँदा २० खेलबाट १० अंक बटुलेको यूएई तालिकाको पुछारमा छ ।