आईपीएलमा हैदराबादको पहिलो जित, कोलकाता दोस्रो खेलमा पनि जितविहीन

चैत्र २०, २०८२ |खेल ब्युरो
आईपीएलमा हैदराबादको पहिलो जित, कोलकाता दोस्रो खेलमा पनि जितविहीन

काठमाडौँ । आईपीएल २०२६ को छैटौँ खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको छ ।

ईडन गार्डेन्समा भएको खेलमा कोलकाता नाइट राइडर्सले टस जित्दै फिल्डिङ रोजेपछि हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय २६ रन बनायो । जुन सिजनको सबैभन्दा उच्च स्कोरसमेत हो ।

हैदराबादका लागि ट्राभिस हेड र अभिषेक शर्माको जोडीले ३४ बलमा ८२ रनको आक्रामक ओपनिङ साझेदारी गरे । हेडले २१ बलमा ४६ रन र शर्माले २१ बलमा ४८ रन बनाए । पावरप्लेमा बनेको यस सिजनको यो सबैभन्दा उच्च स्कोरसमेत हो । मध्यक्रममा हेनरी क्लासेनले ३५ बलमा ५२ रन र नितीशकुमार रेड्डीले ३९ रन जोड्दै टोलीलाई विशाल योगफलसम्म पुर्‍याए । कोलकाताका बलर ब्लेसिङ मुजराबानीले ४ विकेट लिए पनि अन्य बलरहरू महँगो साबित भए ।

२ सय २७ रनको कठिन लक्ष्य पछ्याएको कोलकाताको टोली १६ ओभरमा १ सय ६१ रनमै अलआउट भयो । न्युजिल्यान्डका फिन एलेनले मात्र ७ बलमा २८ रन बनाएर विस्फोटक सुरुआत गरे पनि उनी दोस्रो ओभरमै हर्ष दुबेको सिकार बने । कोलकाताका लागि अंगकृष रघुवंशीले २९ बलमा ५२ रन जोडे पनि उनी रनआउट हुन पुगे ।

हैदराबादका बलरहरूमा जयदेव उनादकटले ३ विकेट लिए भने इशान मलिङ्गा र नितीशकुमारले समान २-२ विकेट आफ्नो नाम गरे । जितसँगै हैदराबाद अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने कोलकाता लगातार दोस्रो हारसँगै नवौँ स्थानमा झरेको छ ।